काठमाडौँ- पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले निर्वाचनमा माओवादी, कांग्रेस र एकीकृत समाजवादी अर्काप्रति इमान्दार रुपमा प्रस्तुत हुने बताएकी छन्।
सत्तारुढ गठबन्धनले काठमाडौंको ऐतिहासिक सहर साँखुमा सोमबार गरेको चुनावी सभालाई सम्बोधन गर्दै घर्तीले गठबन्धनमा आवद्ध कांग्रेस, माओवादी र एकीकृत समाजवादीको मत एकअर्को दलका उम्मेदवारलाई सहजै ‘ट्रान्सफर’ हुने वातावरण बनेको बताइन्।
४ मंसिरको निर्वाचनलाई सामान्य आवधिक चुनावका रुपमा मात्र लिन नहुने चर्चा गर्दै उनले लोकतन्त्र, व्यवस्था, संविधान र जनताको जित या हारका रुपमा लिनुपर्ने उनको भनाइ थियो।
घर्तीले आफूलाई माओवादीको मात्र नभई गठबन्धनको उम्मेदवारका रुपमा हेर्न भन्दै माओवादी मतदाता र जनताले अन्यत्र कांग्रेस र समाजवादीका उम्मेदवारलाई पनि आफ्नै ठानेर मत दिने उल्लेख गरिन्।
कांग्रेस, माओवादी र एकीकृत समाजवादी मिलेर काठमाडौं–२ बाट संघमा आफू विजयी हुँदै गरेको भन्दै उनले रोल्पाको प्रदेश (ख) मा माओवादी मतले कांग्रेस उम्मेदवार विजयी हुँदै गरेको बताइन्।
घर्तीको गृहिजल्ला रोल्पाको प्रदेश (ख) मा कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन गठबन्धनका साझा उम्मेदवार छन्।
‘कांग्रेस, माओवादी र एकीकृत समाजवादी मिलेर यहाँबाट संघमा म विजयी हुँदै गर्दा उनले रोल्पाको प्रदेश (ख) मा कांग्रेसका उम्मेदवार विजयी हुँदैछन्’, उनले भनिन्, ‘कांग्रेस मतदातालाई लक्षित गर्दै उनले भनिन्, ‘तपाईंहरु हँसिया हथौडामा भोट दिएर मलाई यहाँ जिताउँदै हुनुहुन्छ, रोल्पामा हामी रुखमा भोट दिएर कांग्रेसका उम्मेदवार जिताउँदैछौं। कतै कलम र कतै गिलासको जित गराउँदैछौं।’