गोरखा- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले वामपन्थी र लोकतान्त्रिक शक्तिहरुबीचको एकताको मात्रै अर्थ रहने बताएका छन्।
गोरखाको पालुङटारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘सम्झौता र सहमति भन्ने कुरा युद्धरत पक्षहरु बीचमै हुने हो, आमने सामुने बसेर लड्नेहरुकै बीच हुने हो, सहमति हुने विमति राख्नेहरुकै बीचमा हो । एउटै मत राख्ने बीचमा हुने सहमति र सम्झौताले देशलाई निकास दिँदैन । त्यसकारण नेपाली काँग्रेस र वामपन्थीहरुको वीचमा भएको सहमतिले मात्र अर्थ राख्दछ।’
प्रचण्डले माओवादी र कांग्रेसबीच विस्तृत शान्ति सम्झौतादेखि गठबन्धन सुरु भएको बताए । प्रचण्डले विस्तृत शान्ति सम्झौता गरेकै दिन आफूले रुखमा छाप लगाएको र तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले हँसिया हतौडामा छाप लगाएको बताए।
उनले सो ऐतिहासिक आधारमा दुई दलको गठबन्धन रहेको बताउँदै अहिले कांग्रेस मतदाताले हसिँया हथौडामा छाप लगाउने कि नलगाउने भन्दै प्रश्न गरे।
हिजो युद्धका क्रममा राज्य पक्षबाट र विद्रोही माओवादीको तर्फबाट पूरै जित्ने अवस्था नरहेको,युद्ध लम्ब्याउँदै गर्दा ५० हजारबढीको मृत्यु हुने अवस्था समेत रहने र विदेशी सेना आएर हस्तक्षेप गर्ने अवस्थामा माओवादी र कांग्रेस मिलेर शान्ति प्रक्रिया सुरु गरेको बताए।
पालुङटार एयरपोर्ट बनाएर पाइलट तालिम केन्द्र बनाउने
प्रचण्डले गोरखामा गेमचेन्जर आयोजनाको रुपमा बुढीगण्डकी जलविद्युत आयोजना रहेको उल्लेख त्यसलाई पूरा गर्ने प्रतिबद्धता जनाए। गोरखामा सडक सञ्जालबाट गोरखालाई समृृद्ध बनाउने, यहाँका टारहरुमा सिचाइको सुविधा पु¥याएर आर्थिक विकास गर्ने, हिमालीय पर्यटनको विकास, जडिबुटी प्रशोधनबाट यहाँका जनताको आर्थिक विकास गर्न सकिने, गोरखकाली रबर उद्योगलाई सञ्चालन गरेर यहाँको युवाहरुलाई रोजगारी दिन पहल गर्ने उनले बताए।
उनले पालुङटारमा एयरपोर्ट बनाएर पाइलट तालिम केन्द्र बनाउने सपनासमेत सुनाए। उनले आफूले गोरखामा घरदैलो गर्दा यहाँका जनताको चाहना सबै बाटो कालोपत्रे होस् भन्ने रहेको बताउँदै आफूले पहिलो काम गर्ने प्रतिज्ञा गरे। उनले प्रत्येक वडामा कालोपत्रे बाटो लगेर पालुङटारलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने उल्लेख गरे।
उनले माओवादी युद्धका क्रममा माओवादीका कारण ज्यान गुमाउन बाध्य भएकाहरूको परिवारलाई भेटेर कुरा गर्न चाहेको उल्लेख गरे। उनले गठबन्धनलाई कमजोर बनाउने स्वतन्त्र उम्मेदवारको कुरा नसुन्नसमेत आग्रह गरेका छन् ।