प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन मितिले नजिक भइसकेको छ। मतदानको समय आउन केही दिन बाँकी छ। निर्वाचन नजिकिएसँगै अन्य जिल्लाजस्तै ललितपुरमा चुनावी सरगर्मी बढेको छ। खासगरी ललितपुरको क्षेत्र नम्बर ३ लाई निकै चर्चाको रूपमा यसपटकको चुनावमा हेरिएको छ ।
गठबन्धन, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको जिल्लामा अलि बढी चर्चा भइरहेको छ। ललितपुर क्षेत्र ३ मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) की नेतृ पम्फा भुसाल उम्मेदवार छिन्। अन्य उम्मेदवारको तुलनामा उनी हेभिवेट हुन्।
उनीसँगै अन्य दुई जना एमालेका अमृत खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार ललितपुर क्षेत्र ३ बाट उम्मेदवार बनेका छन्। तर यसपटक गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी पम्फा भुसाललाई चुनाव जित्न निकै सहज हुने अनुमान गरिएको छ। अन्य पार्टीबाट कमजोर उम्मेदवार र त्यसैमाथि पनि जिल्लामा बलियो राजनीति गरेकी भुसाललाई यसपटक पनि चुनाव जित्न कठिन नहुने अनुमान गरिएको छ।
झण्डै तीन दशकदेखि राजनीतिमा सक्रिय भुसाल राज्यको माथिल्लो तहसम्म पुगेर कार्य सम्पादन गरेकी छन्। उनी तीन पटकसम्म मन्त्री भएकी छन्। ललितपुरलाई मुल क्षेत्र बनाएर राजनीति गर्दै आएकी भुसाल जिल्ला निकै लोकप्रिय र परिचित नेतृ हुन्। उनीसँगै यसपटक चुनावमा उठेका उम्मेदवारको भने राजनीतिक पृष्ठभूमि नै छैन। उनीहरू राजनीतिबाट उदाएका पनि होइनन्। लहडमा लागेर राजनीतिमा आएका हुन्।
यसपटकको चुनावमा उनै भुसालसँग एमालेका अमृत खड्का चुनावी मैदानमा छन्। तर खड्कालाई भुसालसँग चुनाव लड्नु ढुंगाको चिउरा चपाउनुजस्तै कठिन देखिन्छ। भुसालले यसअघि सरकार र संसद्को लामो अनुभव बोकेकी छन्। उनलाई माओवादीभित्र शक्तिशाली नेतृकोे रूपमा पनि लिने गरिन्छ। भुसाल यसअघि चार पटकसम्म मन्त्री र तीन पटक सांसद बनिसकेकी छन्। यो चुनावपछि उनी तेस्रोपटक सांसद बन्नेछन्।
ललितपुर–३ वाम–लोकतान्त्रिकहरूको किल्ला नै मानिन्छ। यहाँको धेरै भुभाग शहरीमा पर्छ भने थोरै भुभाग ग्रामीण भेगमा पर्छ। ललितपुर क्षेत्र ३ ललितपुर महानगरपालिका– १, २, ३, ४, ५, १०, १३, १४, १५, १८, २० २१, २२, २३, २४, २५, २६, २७, २८, २९ र गोदावरी नगरपालिकाका १२ र १४ गरी २२ वटा वडाहरू पर्छन् । यहाँँ मतदाता संख्या ९४ हजार ११६ रहेको छ । त्यस्तै राष्टिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले कुनै पनि हालतमा जिल्लामा चुनाव जित्न सक्ने आधार छैन । किनभने उनीहरूको जिल्लामा कुनै संगठन छैन । नत बलियो तरीकाले प्रचारप्रसारको लागि खटिने कार्यकर्ता नै छन् ।
अहिले चिया पसल, चौतारा, प्यार्टी प्यालेस तथा घरघरमा ललितपुर क्षेत्र नम्बर तीनको चुनावी नतिजा आकलन गर्न थालिएको छ । केही केहीले आफ्नो अनुमानलाई हल्ला फिजाएका छन्। जिल्लाको वास्तविक राजनीतिक अवस्था नै नबुझी आ–आफ्नो पार्टीको उम्मेदवारले जित्छ भन्ने धाक धम्की जिल्लामा यत्रतत्र छ।
तर लामो समय पार्टीका सक्रिय, जनआन्दोलनदेखि हालसम्म पनि पार्टीमा रहेर भूमिका निभाउँदै आएका सफल राजनीतिककर्मीलाई निकै कमजोर ठानिएको छ। यो निकै भ्रामक कुरा हो किनभने देशको स्थायित्वको लागि असल राजनीतिक चरित्र चाहिन्छ। जसले असल र स्वाभिमानपूर्वक देश र जनताको काम गर्छ उही व्यक्ति उम्मेदवार बनेर जित्नुपर्छ ।
ललितपुरको विषयमा पनि यही हो । यदि लामो समय पार्टीमा सङ्घर्ष र जिल्लामा विकास निर्माणका गतिविधिलाई हेरेर भोट दिने हो भने पहिलो नम्बरमा पम्फा भुसाल नै हुन्। जिल्लाको राजनीतिमा लामो समय काम गर्दै आएकी उनमा उच्च राजनीतिक संस्कार छ । जिल्लाका हरेक समस्यामा सामेल र समाधान गर्न सक्ने ल्याकत पनि भुसालले राख्छिन्।
जिल्लामा ख्यातिप्राप्त सफल राजनीतिकर्मीलाई सामान्य उम्मेदवारसँग दाँज्नु निकै हल्का हुन्छ। किनभने राजनीतिमा अनुभव र उनीहरूको योगदानलाई पनि कदर गरिनु पर्छ। जसले असल राजनीतिक चरित्र देखाएको छ सत्तामा उही पुग्नुपर्छ।
जिल्लामा भुसालको प्रतिस्पर्धी भनिएकी कार्कीको घर सानेपा हो। उनी पाटन अस्पतालमा काम गर्ने भएकोले केही बिरामी र आफन्त चिनेकी छन्। तर अस्पतालमा काम गर्ने भन्दैमा उनले नै चुनाव जित्छन् भन्ने आधार छैन ।
अर्को कुरा उनको पछि अहिले केही थान युवाहरू लागेका छन्। ती कहाँ जान्छन् र कसलाई भोट हाल्छन् भन्ने मौन अवधि र त्यसपछिको चुनावी नतिजाले बताउला। त्यसैले डाक्टर भए भन्दैमा चुनाव जित्ने आधार र आँट नराख्दा हुन्छ। किनकि राजनीति सहज पाटो होइन। त्यो भन्दा बरु बिरामी जाँच्न सहज छ डा. तोसिमा।