गोरखा- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन छोडेर गोरखा गएपछि गोरखा चर्चाको केन्द्रमा छ। प्रचण्ड गोरखा–२ बाट उम्मेदवार बनेपछि गोरखा– १ भने ओझेल परेको छ। उक्त क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट राजेन्द्र बजगाईँ र नेकपा एमालेबाट रामशरण बस्नेत उम्मेदवार छन्। उनीहरू दुवै परिचित प्रतिस्पर्धी हुन्।
२०७४ सालको निर्वाचनमा यही क्षेत्रको प्रदेश सभा ‘ख’मा प्रतिस्पर्धा गरेका उनीहरूमध्ये बस्नेतले बाजी मारेका थिए। बजगाईँले ५ वर्षअघिको हारको बदला लिनु छ भने बस्नेत जितको दबदबा कायमै राख्ने चुनौतीका साथ मैदानमा छन्।
२०७४ सालको निर्वाचनमा बस्नेतले १६ हजार ६५६ मत पाएर विजयी भएका थिए भने बजगाईँले १३ हजार १ मत पाए। उक्त निर्वाचनमा प्रतिनिधि सभातर्फ कांग्रेसका चिनकाजी श्रेष्ठ उम्मेदवार थिए भने वाम गठबन्धनका तर्फबाट एमाले र माओवादीले हरिराज अधिकारीलाई साझा उम्मेदवार बनाएका थिए। प्रतिनिधि सभामा माओवादी केन्द्रका अधिकारीले जित हात पारेका थिए।
यस पटकको निर्वाचनमा ठिक उल्टो भएको छ। नेकपा एमाले एक्लै लडेको छ भने कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धन गरेर निर्वाचनको मैदानमा छन्। यसको फाइदा उठाउँदै जित हात पार्ने दाउमा बजगाईँ रहेका छन् भने उनलाई रोकेर प्रदेशबाट प्रतिनिधि सभामा उक्लिने रणनीतिमा बस्नेत छन्।
गठबन्धनको बलमा कांग्रेसकै डर
गोरखामा एमालेको जनआधार बलियो नभएकाले पनि अन्य उम्मेदवारलाई खासै समस्या देखिन्न तर बजगाईँको हकमा भने कांग्रेसकै नेताको असहयोगका कारण समस्या देखिन थालेको चर्चा छ । कांग्रेसभित्र ‘बिचौलिया’ भनेर चिनिएका राजेन्द्र बजगाईँलाई कांग्रेसकै नेताहरूको डर देखिन थालेको छ ।
उनीसँगै टिकटका लागि केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठले आंकाक्षी देखाएका थिए । तर, अन्तिम समयमा बजगाईँले टिकट हात पारेपछि प्रचार प्रसारमा आक्रामक रूपमा लागेका छन् । प्रतिनिधिसभा गोरखा- १ का बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका बजगाईँ विवादास्पद व्यक्ति हुन् ।
काठमाडौँमा रहेर विभिन्न शङ्कास्पद धन्दा गर्दै आएका उनी पैसाकै आडमा कांग्रेस भित्र राजनीति गरेको भन्दै आलोचना हुँदै आएका छन् ।विभिन्न पेसा व्यवसायमा संलग्न रहेका बजगाईँको मुख्य धन्दा जुवा अर्थात् ‘क्यासिनो’ हो । तर, उनले क्या सिनो धन्दाकै बीचमा गरेको एउटा कारोबार भने शङ्कास्पद छ । कालो धनको शङ्कास्पद ओसार पोसार गरेको विषयमा खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संस्था (आइसिआइजे)ले समेत उनी कालाेधनकाे कारोबारमा संग्लन्न रहेको खुलासा गरेको थियो । उनले ३ अर्ब रुपैयाँ नेपाली कालोधन भित्र्याएको खुलासा भएको थियो ।
काे हुन् बजगाईँ
दुई पटक पार्टीको केन्द्रीय सदस्य भएका बजगाईँ यस पटक सत्तारुढ गठबन्धनको साझा उम्मेदवार बनेका छन् । २०२९ सालमा भीमसेन गाउँपालिका–१ मसेलमा जन्मेका बजगाईँ कक्षा ८ मा पुगेपछि नेपाल विद्यार्थी संघको सदस्यताबाट राजनीतिमा आएको हुन् । नेविसंघको जिल्ला सदस्य हुँदै २०४६ सालको जनआन्दोलनमा सक्रिय भूमिका खेलेका थिए ।
उनले २०४८ सालमा कांग्रेस पार्टीको क्रियाशील सदस्यता पाए, तर विद्रोह गरेको भन्दै २०५१ मा खोसियो । २०५२ मा गोरखा कांग्रेस सभापति श्रेष्ठविरुद्ध जागरण अभियानमा लागेपछि उनी झन् अप्ठ्यारोमा परे । त्यसपछि उनी पत्रकारिता पढ्न काठमाडौँतिर लागे । उनै श्रेष्ठको हातबाट क्रियाशील सदस्यता लिने मौका पनि काठमाडौँमै जुर्यो ।
त्यसबाट उनलाई पार्टीको १२औँ महाधिवेशनबाट महासमिति सदस्य बन्न सहयोग पुग्यो । १३औँ महाधिवेशनमा कुनै पनि गुटमा नपरेका उनी केन्द्रीय सदस्यमा उठेर हारे । १४औँ महाधिवेशनमा पनि उनी महासमिति सदस्य बने । त्यो बेला सुशील कोइराला गुटमा पसे पनि केन्द्रीय सदस्यमा पराजित भए ।
काे हुन् बस्नेत
२०१८ सालमा गोरखा नगरपालिका-३, घलाङमा जन्मिएका बस्नेत ८ कक्षामा नै नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेशन -बर्मा समूह)को सदस्य भएका थिए । २०३९ सालसम्म आइपुग्दा नेपाल राष्ट्रिय स्वतन्त्र होटेल मजदुर युनियनको अध्यक्ष भएका बस्नेत २०४२/४३ सालमा काठमाडौंको पिपुल्स कलेजमा अनेरास्ववियूको सह-सचिवमा निर्वाचित भए । त्यसपछि अनेरास्ववियूको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य बने ।
२०४६ सालको आन्दोलनमा घाइते भएका बस्नेत २०४९ मा गोरखाको नारेश्वर गाविस अध्यक्ष भए । २०५२ सालमा नेकपा (एमाले)को जिल्ला कमिटी सचिवालय सदस्य निर्वाचित बस्नेत जिल्ला कमिटी उपसचिव, सल्लाहकार समिति अध्यक्ष हुँदै दुई पटक जिल्ला कमिटी अध्यक्ष भए । अहिले उनी पार्टीको केन्द्रीय सदस्य छन् ।
२०५६ र २०७० मा गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका बस्नेत दुवै निर्वाचनमा पराजित भएका थिए । २०५६ मा कांग्रेसका चिरञ्जीवी वाग्लेसँग पराजित भएका उनी २०७० सालमा माओवादीका डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए । यस पटक पुनः उम्मेदवार बनेका उनलाई लगातार तेस्रो हारबाट जोगिने चुनौती छ ।
बस्नेत २०७४ सालको आमनिर्वाचनमा गोरखा-१ (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी गण्डकी प्रदेश सरकारमा भौतिक पूर्वाधार मन्त्री समेत बने । मन्त्री भएको मौकामा सडक नै नपुगेको ठाउँमा दरौंदी नदीमा पक्की पुल बनाउन ठेक्का लगाएको भन्दै आलोचित भएका थिए ।
विवादमा बस्नेत
गण्डकी प्रदेश सभामा मन्त्री समेत भएका बस्नेत बाटो नै नभएको दराैंदीमाथी पुल बनाएको भन्दै चर्चा र विवादमा पनि परेका थिए।मन्त्रालयका तत्कालीन सचिवमार्फत धन आर्जन गरी पोखराको आँखा अस्पताल अगाडी ‘डबल लेन’ बाटोमा ११ आना जग्गा किनेका भन्दै उनी विवादमा परेका थिए । नवलपरासीको कावासोतीमा रहेको ट्रायल सेन्टरमा समेत उनको ‘गोल्डेन शेयर’ रहेको रहेको भन्दै उनी विवादमा तानिएका थिए ।
भौतिक मन्त्रालयको अनुदानमा रहेको उक्त ट्रायल सेन्टर मिलाइदिए बापत २५ प्रतिशत ‘गोल्डेन शेयर’ हात पारेको आरोप उनमा लागेको थियो ।
स्थानीय मत ४० हजारको फरक
गत वैशाखमा भएको स्थानीय तह निर्वाचनको मत परिणाम हेर्दा गोरखा– १ मा कांग्रेस पहिलो छ। कांग्रेसले २७ हजार ८४ मत पाएको छ भने माओवादीको २५ हजार ४७२ मत छ। दुई दलको मत परिणामसहित नेसपा र समाजवादीको मत जोड्दा ५५ हजारभन्दा बढी मत गठबन्धनको पक्षमा देखिन्छ। एमालेको मत १४ हजार ५ सय ६६ छ। एमालेभन्दा सत्ता गठबन्धन ४० हजारभन्दा बढी मतले अगाडि देखिन्छ।
१ लाख १५ हजार हाराहारीमा मतदाता रहेको यस क्षेत्रको प्रदेश ‘क’मा गठबन्धनले माओवादी केन्द्रका तर्फबाट कृष्ण धिताल र प्रदेश ‘ख’मा कांग्रेसका गोरखा सभापति समेत रहेका नन्दप्रसाद न्यौपाने उम्मेदवार छन्।
बजगाईँको २५ बुँदे प्रतिबद्धता
‘विकासका लागि राजनीति’ नारासहित बजगाईँले २५ बुँदे प्रतिबद्धता अघि सारेका छन्। आफू संसद् बनेपछि राष्ट्रिय गौरवको योजनाका रूपमा रहेको बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्नेदेखि बेनिघाट, आरुघाट, लार्के सडक निर्माण गरी त्रिदेशीय व्यापारबाट मुलुकको आर्थिक समृद्धिको ढोका खुलाउने उनको दाबी छ।
मनासलु तथा धार्चे क्षेत्रलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय पर्यटकको हब बनाउने, चुमभ्यालीमा प्रचलित स्याक्या तथा नुब्री भ्याली र धार्चे क्षेत्रका गुरुङ, घले, भोटे लामा समुदायमा प्रचलित मौलिक संस्कृति र परम्परालाई राष्ट्रिय पहिचान दिई, त्यहाँको धार्मिक, ऐतिहासिक र पर्यापर्यटनको विकास गर्ने आफ्नो प्राथमिकता हुने उनको दाबी छ।
करौँजा, श्याम चेत, खानी गाउँ लगायतका पहिरोबाट उच्च जोखिममा रहेका बस्तीका बासिन्दालाई पूर्वाधारयुक्त ठाउँमा स्थानान्तरण गर्न प्रयत्न गर्ने, सुकुम्वासी तथा अव्यवस्थित बसोबासोकी दशकौँदेखिको समस्या समाधानका लागि अग्रणी भूमिका निर्वाह गर्ने, विकास निर्माण तथा स्थानीय आवश्यकतामा पर्याप्त छलफल र परामर्श गरी कार्यक्रम अघि बढाइने उनको प्रतिबद्धता छ।
गोरखकाली, गोरखनाथ, मनकामना, भीमेश्वर मन्दिर क्षेत्र र तल्लो दरबार क्षेत्रलाई प्रवर्द्धन गर्दै उत्कृष्ट धार्मिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उनको दाबी छ।
जिल्लाका वडादेखि पालिका जोड्ने सडकहरूको स्तरोन्नति गर्ने, स्तुलखोला, खोर्लाखोला, बुढीगण्डकी, स्यार लगायतका विभिन्न नदी, खोलाका आवश्यक ठाउँ र बस्ती क्षेत्र जोड्ने ठाउँमा पक्की पुल निर्माणमा पहल गर्ने आफ्नो प्रमुख दायित्व रहेको उनको दाबी छ।
निषेधित मनासलु क्षेत्रलाई खुला गर्ने, आपत्कालीन हेलिउद्धार गर्न हटलाइन अनुमतिको व्यवस्था ग्यारेन्टी गर्ने, जडीबुटीबाट आर्थिक समृद्धिको प्रचुर सम्भावनाको ढोका खुलाउन पहल गर्ने उनको प्रतिविद्धतामा उल्लेख छ।
रामशरण बस्नेतका अजेण्डा
प्रदेश सांसदको रूपमा सुरु गरेका काम केन्द्रबाट पुनः राष्ट्रिय महत्वका आयोजनाहरू यस क्षेत्रमा ल्याउने दाबी बस्नेतले गरेका छन्। उनले आफ्नो प्रतिविद्धतामा प्रदेशमा मन्त्री रहँदा रहेका कामहरूलाई निरन्तरता दिने र विकासका अन्य कार्यक्रम पनि सञ्चालन हुने दाबी गरिएको छ।
भौतिक पूर्वाधार विकास मन्त्री समेत भएका बस्नेतले आफू निर्वाचित हुनुपर्दाका कारणहरू मतदाता सामु उल्लेख गरेका छन्। बस्नेतले समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार पार्न आफू यस क्षेत्रको उम्मेदवार बनेको दाबी उनले गरेका छन्।
रुइला नाका सडक निर्माण सम्पन्न गर्ने, एक निर्वाचन क्षेत्र एक पक्की सडक, एक प्रदेश निर्वाचन क्षेत्र एक प्राविधिक शिक्षालय, पालिका स्तरीय स्वास्थ्य चौकीबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न पहल गर्ने उनी बताउँछन्।
एकाघर एक धाराको अवधारणा अनुसार काम गर्न, कृषिमा आधुनिकीकरण गरी उत्पादन वृद्धिसहितको रोजगारी सिर्जना गर्न, धार्मिक, सांस्कृतिक, पुरातात्त्विक लगायतका पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने कार्यभार पूरा गर्न आफू यस क्षेत्रको उम्मेदवार भएको उनले बताएका छन्।
खेल क्षेत्रलाई प्रवर्द्धन गर्न एक वडा एक खेल मैदान निर्माण गर्ने, सूचना सञ्चारलाई आमजनताको पहुँचमा पु¥याउन, राष्ट्रिय गौरवको बुढीगण्डकी आयोजनालाई कार्यान्वयन गर्न आफू यो क्षेत्रको उम्मेदवार बनेको बस्नेतको दाबी छ।
सामाजिक सुरक्षासहितको न्याय, शान्ति, सुशासन र भयरहितको सुसंस्कृत समाज निर्माण गर्ने, युवालाई स्वरोजगार बनाउने काम आफ्नो प्रमुख प्राथमिकतामा रहने उनको भनाइ छ।