गोरखाका नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्जसमेत रहेका कृष्णप्रसाद धिताल आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअन्तर्गत गोरखा क्षेत्र नम्बर १ को प्रदेश सभातर्फको (क)मा उम्मेदवार रहेका छन् । प्रस्तुत छ, लामो राजनीतिक अनुभव हासिल गरेका धितालसँग आगामी निर्वाचनमा केन्द्रित रहेर गरेको कुराकानीकाे सम्पादित अंश :
भोट माग्न तपाईं मतदाताको घर–घरमा पुग्नुभयो, तपाईंसँग मतदाताले केकस्तो अपेक्षा गरेको पाउनुभयो ?
धेरै मतदाताले मलाई चिन्नुभएको छ । कृषि क्षेत्रलगायत पूर्वाधार विकास निर्माण र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा मतदाताले मसँग बढी अपेक्षा गर्नुभएको पाएँ । निर्वाचित भएपछि त्यसलाई पूरा गर्नतर्फ लाग्नेछु ।
गोरखामा के–के समस्या देख्नुभएको छ । जनताका लागि तपाईंले कस्ता एजेन्डा अगाडि सार्नुभएको छ ?
गोरखा जिल्लामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नै आउनुभएको छ । हामी उहाँकै कार्यकर्ता हौँ । त्यसैले प्रचण्डले गोरखा जिल्लाको विकासका लागि गरेका प्रतिबद्धताअनुसार नै काम गर्ने हो । प्रचण्डले बनाएको योजनाअनुसार नै काम गर्ने हो ।
म प्रचण्ड उठेको जिल्ला गोरखा क्षेत्र नम्बर १ को प्रदेश सभातर्फको (क)बाट उठेको हुँ । यस क्षेत्रमा मुख्यगरी खोला र नदीले समस्या सिर्जना गरिरहेका छन् । त्रिशूली नदी आसपास पुल बनाउनुपर्ने छ । यस्तै केही ठाउँमा ठेकेदारले बदमासी गरेर नबनाएका पुलसमेत निर्माण सक्नुपर्ने स्थिति छ ।
यस्तै गोरखातर्फ आउने वैकल्पिक बाटो निर्माण गर्नुपर्छ । चीनतर्फको बाटोलाई मजबुत बनाउनुछ । बूढीगण्डकी हाइड्रोपावरको निर्माणलाई समेत अघि बढाउन पहल गर्नेछु । यो आयोजना लामो समयसम्म अड्किएर बसेको छ । यस्तै गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउन कोसिस गर्नेछु । गाउँघरमा कच्ची अवस्थामा रहेका सबै सडकमार्गलाई कालोपत्रे गर्ने काम गर्नेछु ।
कृषि क्षेत्रको विकास गर्न व्यावसायिक रूपमा खेती गर्ने योजना अघि बढाउनुछ । गोरखा जिल्लालाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउँदै देशभर निर्यात गर्नेगरी काम गर्नुपर्नेछ । यस्तै यस क्षेत्रको शिक्षा र स्वास्थ्यलाई समेत अघि बढाउनुछ । गोरखा जिल्ला जलविद्युत्मा सम्भावना भएको जिल्ला हो । यस क्षेत्रमा बूढीगण्डकीसहित १८ सय मेगावाट क्षमताका आयोजना बनाउन सक्ने सम्भावना छ । यसबाहेक खेलमैदानहरू निर्माणका काम अघि बढाउनुछ ।
यतिबेला तपाईंहरू नेपाली कांग्रेससँग गठबन्धन बनाएर चुनावमा जानुभएको छ । यो जिल्लामा कांग्रेसको मत पूर्णरूपमा आफूतर्फ आउनेमा कतिको विश्वस्त हुनुहुन्छ ?
यसमा कुनै शङ्का छैन । कुनैबेला प्रचण्ड र गिरिजाबाबु मिलेर शान्ति सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । यतिबेला गोरखाका जनता विकास निर्माणका लागि आतुर छन् । मिलेरै विकास गर्न सकिन्छ भन्ने सबैलाई परेको छ । सङ्गठनको विधि र पद्धतिमा चल्ने हाम्रो चलन छ । माओवादीको ठूलो सङ्गठन छ र नेपाली कांग्रेसको पनि ठूलै सङ्गठन छ । छिटपुट रूपमा भोट क्रस हुन सक्छ । तर निर्वाचन जित्न समस्या हुँदैन ।
तपाईंले चुनावी सम्मेलनहरूमा बूढीगण्डकी आयोजना बनाउने बताइरहनुभएको छ । यसअघि बाबुराम भट्टराईले पनि नसकेको आयोजना अघि बढाउन कति सम्भव छ ?
यसअघि पनि पटक पटक त्यो आयोजना बनाउन प्रयास गरिएको हो । तर सम्भव भएको थिएन । यस पटक प्रचण्ड यस क्षेत्रमा आउनु भएको छ । प्रधानमन्त्री बन्ने सम्भावना पनि प्रचण्डमा छ । उहाँकै चाहनामा पनि बूढीगण्डकी आयोजना परेको छ । यस्तै शेरबहादुर देउवाको पनि यसमा चासो देखिन्छ । त्यसैले यो आयोजना अघि बढाउन सकिन्छ ।
तपाईंले आफ्ना प्रतिस्पर्धीलाई कतिको चुनौती मान्नुभएको छ ? अहिले त देशभर स्वतन्त्रको उभार पनि आइरहेको छ नि ।
सबैतर्फका उम्मेदवार मैले चिनेकै हुनुहुन्छ । गोरखामा माओवादी र कांग्रेस मुख्य प्रतिस्पर्धामा रहेका पार्टीहरू हुन् । हामी दुईवटै दल मिल्दा जित्न सकिने अवस्था छ । दोस्रो कुरा मैले यो जिल्लामा राजनीतिक गरेको लामो समय भइसकेको छ । यस अवधिमा धेरै मतदातासँग मेरो व्यक्तिगत चिनजान छ । यस जिल्लामा एमालेको सङ्गठन निकै कमजोर छ । अहिले उहाँ एक्लै उठेर जित्ने कुरा कल्पनाबाहिरको हो । हामी साङ्गठानिक, राजनीतिक र गठबन्धनसँगै बाबुराम भट्टराईको सङ्गठन पनि छ । यस्तो स्थितिमा जित सहज छ ।
तपाईंले कति मत ल्याएर जित्ने आकलन गर्नुभएको छ ?
मतान्तर कति हुन्छ भन्ने विषय त ठ्याक्कै नमिल्न सक्छ । तर स्थानीय निर्वाचनको मत हेर्दा हामी सहज स्थितिमा छौँ । मतपरिणामको अङ्क फराकिलो हुनेमा म विश्वस्त छु ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
अहिलेसम्म निर्वाचनको प्रक्रिया शान्तिपूर्ण ढङ्गले अघि बढिरहेको छ । त्यसैले भोलिका दिनमा पनि सहज रूपमा निर्वाचन हुनेमा ढुक्क छु । सबै मतदातालाई निर्वाचनमा सहभागी हुन अनुरोध गर्छु र निर्वाचित भएपछि भोलिका दिनमा मतदाताको चाहनाअनुरूप काम गर्ने नै छु ।