काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी ओली नैतिकताका आधारमा राजनीतिमा रहन सक्ने अवस्था नरहेको टिप्पणी गरेका छन् ।
बिहीबार काठमाडौं क्षेत्र नम्बर २ मा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले ओलीको सिद्धान्त असफल भइसकेको भन्दै नैतिकताका आधारमा राजनीतिमा रहन सक्ने अवस्था नरहेपनि ओली त्यसलाई मान्न तयार नरहेको बताए ।
दुई–दुईपटक संसद् विघटन गरेर संविधान मास्नेदेखि भ्रष्टाचारलाई प्रश्रय दिने काम ओलीबाट भएको उनको भनाइ छ । ओलीको गोरुगाडाको सिद्धान्त पनि असफल भइसकेको उनले बताए ।
प्रचण्डले संविधानलाई बचाउन, देशलाई राजनीतिक स्थायित्व दिन गठबन्धन बनाउनुपरेको दाबी गरे ।