काठमाडौँ- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशैभर मतदान सुरू भएको छ। आगामी ५ वर्षका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयन गर्नका लागि आज(आइतबार) बिहान ७ बजेबाट मतदान सुरू भएको हो।
देशभर एकसाथ हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सबै तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ। संघीय संसद र प्रदेशसभा गरी जम्मा ८२५ जना जनप्रतिनिधि छानिँदैछन्।
जसअनुसार प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रतिनिधिसभातर्फ १६५ र प्रदेशसभातर्फ ३३० जनप्रतिनिधि चुनिँदै छन्। अर्कातिर मतदाताले प्रतिनिधिसभातर्फ ११० र प्रदेशसभातर्फ २२० जनप्रतिनिधि समानुपातिक निर्वाचन प्रणालीबाट छान्दैछन्।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ २ हजार ४१२ र समानुपातिकतर्फ २ हजार १९९ उम्मेदवार प्रतिष्पर्धामा छन्।
जसमध्ये १ हजार ५४५ दलीय र ८६७ स्वतन्त्र उम्मेदवार छन्। प्रत्यक्षतर्फ उम्मेदवारी दिएकामा २ हजार १८७ पुरुष र २२५ महिला छन्।
प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ उम्मेदवारी दिएकामध्ये १ हजार १२ पुरुष र १ हजार १८७ महिला उम्मेदवार रहेका आयोगले जनाएको छ।
प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ३ हजार २२४ जना उम्मेदवार रहेका छन्। जसमा २ हजार ९४३ पुरुष, २८० महिला र १ जना अन्य उम्मेदवार हुन्।
प्रदेशसभाका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका मध्ये २ हजार १३० दलीय र १ हजार ८४ स्वतन्त्र उम्मेदार हुन्। प्रदेशसभामा समानुपातिकतर्फ ३ हजार ७८० उम्मेदवार रहेका छन्। जसमा २ हजार १९७ पुरुष र १ हजार ५११ महिला उम्मेदवार हुन्।