काठमाडौं– प्रतिनिधि सभामा काठमाडौं- ४ बाट निर्वाचित भएका गगन थापाले राजनीतिले नयाँ गति खोजेको बताएका छन्। जितपछि सञ्चार माध्यमलाई प्रतिक्रिया दिँदै उनले अहिलेसम्म गरेको काम गरेर अगाडि बढ्न नसकिने बताए।
‘कांग्रेसले बुझ्नुपर्ने कुरा, देशले केही नयाँ खोजेको छ। राजनीतिले नयाँ गति खोजेको छ। अहिलेसम्म जे गरेको हो, त्यही गरेर अगाडि बढ्न सक्दैनौँ भन्ने कुरा बुझ्नुपर्छ’, उनले भने।
उनले यतिबेला कांग्रेसका बढीभन्दा बढी उम्मेदवारहरु जितेर आउन् भन्ने कामना गरिरहेको बताए। ‘गठबन्धनमा रहनुभएका साथीहरु जति बढी जितेर आउनुहुन्छ, स्थिर सरकार दिन सक्ने हो। त्यही नै प्रार्थना गरिरहेको हो’, उनले भने।
उनले नयाँ पुस्ताका उम्मेदवारहरु जितेर आउँदा आफूले गरेको संकल्प (प्रधानमन्त्रीका लागि संसदीय दलमा लड्ने) मा सहजता थपिने उनले बताए।
थापाकाे ह्याट्रिक
काठमाडौं–४ बाट थापाले फराकिलो अन्तरले नेकपा एमालेका राजन भट्टराईलाई हराउँदै ह्याट्रिक जित निकालेका हुन् ।
भट्टराईलाई थापाले ७ हजार ४४६ मतान्तरले पराजित गरे । गगन थापाले २१ हजार ३०२ मत पाए भने एमालेका उम्मेदवार भट्टराईले १३ हजार ८५५ मात्र मत ल्याए ।
०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । त्यो चुनावमा वाम गठबन्धनका तर्फबाट एमालेका भट्टराई प्रतिस्पर्धामा थिए । तर ३२ सय मतान्तरले थापाले जितेका थिए । यसपटक थापाले मतान्तरले थप फराकिलो बनाएका छन् ।
०७० मा पनि गगनले यही क्षेत्रबाट एमालेका निर्मल कुँइकेललाई पराजित गरेका थिए । ०६४ मा थापा समानुपातिक सांसद थिए । ३१ वर्षे उमेरमै समानुपातिक सांसद रहेका थापा लगत्तै कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भएका थिए । अहिले उनी कांग्रेस महामन्त्री छन् ।