काठमाडौं- काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी भएकी छन् । उनले १५ हजार २२९ प्राप्त गर्दा नेकपा एमालेका मणिराम फुयाल ११ हजार ५५५ मत पाए ।
यस्तै राप्रपाकी कुन्ती पोखरेलले ११ हजार १४ मत पाइन् । गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी नेतृ ओनसरी घतीले ९ हजार ४४८ मत पाइन् ।
अधिक संयमका साथ निर्वाचन क्षेत्रका केही ठाउँमा जम्मा हुने, चौतारीमा बसेर गफ गर्ने र मोटरसाइकल र्याली ननिकाल्ने उनले बताएकी छन् ।
सामाजिक सन्जालमा उनले लेखेकी छन्, ‘अहिले बिहान ८ बजे एकैछिनका लागि हामी निर्वाचन कार्यालय थलीमा जम्मा हुँदैछौं । चौतारीमा बसेर गफ गर्नेछौं ।’
उनले प्रतिस्पर्धी र फरक मत राख्नेहरुको आत्मसम्मानमा ठेस लाग्ने गरी कुनै वक्तव्य नदिने पनि उल्लेख गरेकी छन् । उनी अगाडि लेख्छिन्, ‘आम सर्वसाधारणलाई असहज हुनेगरी हामी ठूलो तडक–भडक गर्नेछैनौं, मोटरसाइकल र्याली गर्ने, हर्न बजाउने आदि कृत्य गर्ने छैनौं ।
अधिक संयमका साथ हामी हाम्रो निर्वाचन क्षेत्रका केही ठाउँमा जम्मा हुनेछौं र सबैजनालाई धन्यवाद दिनेछौं । प्रतिस्पर्धी साथीहरु तथा फरक मत राख्ने मतदाताको आत्मसम्मानमा ठेस लाग्ने गरी कुनै वक्तव्य दिनेछैनौं ।’
आज बिहान ११ बजे म्याजेस्टिक ब्यांक्वेट जडीबुटीमा पत्रकार सम्मेलन गर्ने जानकारी पनि गौतमले दिएकी छन् ।