गाेरखा- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखाको चुनावी आमसभामा पटक–पटक भनेका थिए, ‘गण्डकीको मुख्यमन्त्री हुने सुरेन्द्रजी (सुरेन्द्रराज पाण्डे) यहीँ हुनुहुन्छ, यो विषयमा मैले देउवाजी (कांग्रेस सभापति शेरबहादुर देउवा) सँग पनि कुरा गरिसकेको छु।’
गोरखा २ बाट कांग्रेसले सुरेन्द्रलाई सर्वसम्मत रुपले उम्मेदवार सिफारिस गरेको थियो। तर, चितवन छाडेर प्रचण्ड गोखरा आएसँगै सुरेन्द्रलाई प्रदेशमा झारियो।
५ दलीय गठबन्धनकोतर्फबाट गोरखाको क्षेत्र नम्बर २ को ‘२’ बाट प्रदेशसभाका उम्मेदवारी दिएसँगै पाण्डेलाई मुख्यमन्त्री प्रक्षेपण गरिएको थियो।
कांग्रेस स्रोतका अनुसार सभापति शेरबहादुर देउवाकै आग्रहमा उनी मुख्यमन्त्री बन्नेगरी प्रदेश आएका थिए। अहिले उनै सुरेन्द्र सो क्षेत्रबाट भारी मतान्तरले विजयी बनेका छन्।
प्रतिस्पर्धी नेकपा एमालेका बसन्त गुरुङलाई ११ हजार ५१२ मतान्तरले पराजित गर्दै उनले पोखरातिरको यात्रा सोझ्याएका छन्। खसेको २७ हजार ४३० मध्ये पाण्डेले १६ हजार ८८२ र बसन्तले ५ हजार ३६० मत प्राप्त गरे।
राष्ट्रियसभामा कांग्रेसको संसदीय दलको नेता भइसकेका पाण्डे मुख्यमन्त्री बन्छन् कि बन्दैनन् भन्ने प्रष्ट भइसकेको छैन तर चुनावी परिणामले उनको यात्रा बलियो बन्दै गएको देखिन्छ।
निर्वाचित भएपछि सञ्चारकर्मीसंगकाे कुराकानीमा पाण्डेले पार्टीले निर्णय गरे मुख्यमन्त्रीका लागि रहेकाे बताए । भने, ‘मैलै एक्लैले मुख्यमन्त्री हुन्छु भनेर भएन, आधिकारिक रुपमा पार्टीले निर्णय गर्नुपर्छ, पार्टीले निर्णय गरे म तयार छु ।’
सबै दललाई साथमा लिएर प्रदेशको विकास र समृद्धिका लागि अघि बढ्ने उनले बताए । ‘समग्रमा गठबन्धनको बहुमत आउने सम्भावना देखिएको छ,’ उनले भने, ‘तर पक्ष प्रतिपक्षभन्दा पनि सबै दल मिलेर अघि बढ्नुपर्छ भन्ने मेरो मान्यता हो, सबैलाई साथमा लिएर अघि बढ्न मेरो सकारात्मक भूमिका रहन्छ ।’
गण्डकी प्रदेशसभा ६० सदस्यीय छ। ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३० सिट चाहिन्छ। अहिलेसम्म कांग्रेसले प्रत्यक्षतर्फ १० सिट जितेको छ।
अघिल्लोपटक कांग्रेसले प्रत्यक्षमा ६ सिटमात्र जितेको थियो । अहिले कांग्रेस लमजुङका दुवै क्षेत्रमा, स्याङ्जामा ३ वटा क्षेत्र, नवलपुरको एक सिट र तनहुँको एक सिटमा अगाडि छ।
यी सबै ठाउँमा जित्दा कांग्रेस गण्डकीको पहिलो पार्टी बन्ने सम्भावना बढेर गएको छ। अर्कोतर्फ कांग्रेसलाई गठबन्धन दलको पनि साथ छ। गोरखा २ (२) मा कुल २७ हजार ४ सय ३० मत खसेको थियो ।
भिडियाे
@palikalivenp गण्डकी प्रदेशको मुख्यमन्त्रीमा प्रस्तावित कांग्रेसमा सुरेन्द्रराज पाण्डे निर्वाचित पछि संक्षिप्त प्रकृया दिदै ! #gorkha #congress #gandaki #Gandakigover