गोरखा- क्षेत्र नम्बर २ को (१) मा नेपाल समाजबादी पार्टीका फणीन्द्र देबकोटा बिजयी भएका छन् । देवकोटाले एमालेका उम्मेदवार राजु रानालाई फराकिलो अन्तरपार्दै जित हात पारेका हुन् ।
गठबन्धनका साझा उम्मेदवार रहेका देवकोटाले उक्त क्षेत्रबाट नेकपा माओवादी केन्द्रको हसियाँ हथौडा चिन्ह लिएर उम्मेदवारी दिएका थिए । उनले १२ हजार ४११ मत पाएर बिजयी भएका हुन् ।
देवकोटाको प्रतिद्वन्दी मानिएका एमालेका राजु रानाले ५ हजार ४१० मत प्राप्त गरेका छन् । रानालाई देवकोटाले ७ हजार १ मतले पछि पार्दै जित हात पारेको हो ।
उक्त क्षेत्रमा हलोले ३ हजार ३५३, लौरोले २ हजार ४०६, चीलले ७२१, भालेले ३०४ पाएको छ ।
काे हुन् देवकाेटा
डा.बाबुराम भट्टराई अर्थमन्त्री र प्रधानमन्त्री रहँदा सचिवालयको नेतृत्व गर्दै गोरखाको समृद्धिका लागि क्रियाशील रहेका देवकोटाले तीन दशकको कानुनी, राजनीतिक र प्रशासनिक कार्यानुभवको आधारमा जनताले दिएको जिम्मेवारी कुशल र इमान्दारितापूर्वक निर्वाह गर्ने बताएका छन् ।
देवकोटाले २०५३ सालमा पार्टीको पूर्णकालीन सदस्य, २०५५ सालमा इलाका कमिटी सदस्य, २०५८ सालमा जिल्ला कमिटी सदस्य र काठमाडौं ४ नं. इलाका इन्चार्ज, २०५९ सालमा वार्ता समिति संयोजक भट्टराईको सचिव र २०६०-६१ सालमा क्षेत्रीय ब्यूरो सदस्य पार्टीगत राजनीति गरेका थिए ।
२०५५ सालमा चार विद्यार्थी संगठनद्वारा आयोजित शिक्षा मन्त्रालय घेराउ कार्यक्रमका क्रममा उनी पक्राउ परेका थिए । बन्दी प्रत्यक्षीकरणको रिटद्वारा रिहा भएपनि प्रहरीले पुनः पक्राउ गरी बेपत्ता बनाएको थियो । उनी २०५६ सालमा पुनः गिरफ्तार भएका थिए ।