काठमाडौं– जनमत पार्टीले ३ प्रतिशत थ्रेसहोल्ड कटाएर समानुपातिकमा आफ्नो हिस्सा सुरक्षित गरेपछि प्रमुख दलहरुको समानुपातिक सिट केही घट्ने देखिएको छ ।
समानुपातिक मतगणना अनुसार, ९८ लाख २१ हजार सदर मत गणना भइसकेको छ । एमालेले २६ लाख ४६ हजार मत पाएको छ । निर्वाचन आयोगले समानुपातिकको सिट निकाल्न प्रयोग गर्ने सेन्ट लग विधिबाट हिसाब निकाल्दा एमालेले ३४ सिट पाउँछ । यसअघि जनमत पार्टीले थ्रेसहोल्ड नकटाउँदासम्म उसको ३५ सिट थियो ।
नेपाली कांग्रेसले समानुपातिकततर्फ २५ लाख मत कटाएको छ । कांग्रेसले अब ३२ सिट पाउने देखिन्छ । जनमतले थ्रेसहोल्ड नकटाउँदासम्म उसले ३३ सिट पाउने आकलन थियो ।
माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई उछिनेर तेस्रो बनेको छ । माओवादी केन्द्रले ११ लाख २८ हजार मत पाएको छ । रास्वपाले १० लाख ८५ हजार मत पाएको छ । यो मतपरिणामका आधारमा माओवादी केन्द्र र रास्वपाले १४/१४ सिट पाउँछन् ।
त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ५ लाख ५९ हजार मत सहित ७ सिट पाउने देखिन्छ । जनता समाजवादी पार्टी (जसपा) नेपालले ३ लाख ७८ हजार मत सहित ५ सिट पाउने देखिन्छ ।