काठमाडौँ– नेकपा (एमाले)का उपमहासचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने काममा लाग्नुपर्ने बताएका छन्।
सत्तारुढ गठबन्धनलाई तोडेर वामपन्थी शक्तिहरुलाई एकजुट बनाउँदै एमालेले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउनका लागि पहलकदमी लिनुपर्ने उनको भनाई थियो।
लमजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा आफूलाई बधाई दिन प्रेस चौतारी नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमै सरकार बन्ने प्रचारलाई तोडेर एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि पहलकदमी लिनुपर्ने बताए।
मुलुकमा प्राप्त उपलब्धिलाई रक्षा गर्नका लागि, मुलुकको स्वाधिनतामाथि धावा बोल्ने कामलाई रोक्नका लागि एमाले नेतृत्वमा सरकार बन्नुपर्ने उनको तर्क थियो।
गुरुङले भने, ‘म फेरि पनि भन्छु–नेकपा एमाले नेतृत्वको सरकार बनाउने काममा हामी लाग्नु पर्छ। अहिले जोडतोडले दुष्प्रचार भइराखेको छ, कुप्रचार भएको छ कि अव शेरबहादुर नै प्रधानमन्त्री भनिराख्या छ। प्रधानमन्त्री को होला, त्यो बेग्लै कुरा हो। तर हामीले सकारात्मक सोच भएका शक्तिहरुबीच सरकार बनाउनु पर्छ। यो दक्षिणपन्थी गठबन्धनलाई तोडिएन भने मुलुकमाथि आईरहेका जोखिमका कुराहरु, राष्ट्रिय स्वाधिनतामाथि धावा बोलिरहेको जुन स्थिति हो, यसको हामीले अन्त्य गर्न सक्दैनौं। त्यसकारणले राष्ट्रिय स्वाधिनताका पक्षधर शक्तिहरु सबैलाई हामीले एकजुट बनाउनु पर्दछ।’