पाेखरा- कात्तिक १३ मा अजिरकाेट गाउँपालिकाकाे केन्द्र भच्चेकबजारमा भएकाे एक चुनावी सभामा नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गाेरखा २ (२) का उम्मेदवार सुरेन्द्रराज पाण्डेलाई गण्डकी प्रदेशकाे भावी मुख्यमन्त्री हाे भन्दै उनकाे पक्षमा मत मागे।
बाबुराम बाेले लगतै गाेरखा २ का विभिन्न स्थानमा भएकाे चुनावी सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि पाण्डेलाई भावी मुख्यमन्त्री भन्दै भोट मागे । २०७४ काे प्रतिनिधि सभा तथा प्रदेशसभामा बाबुरामका लागि संघ छाेडेर राष्ट्रिय सभा छिरेका पाण्डे उनै बाबुरामलाई कुनै पनि हालतमा गाेरखा २ छाेड्न नसक्ने भन्दै चर्काे विराेध गरिरहेका थिए ।
भयाे के भने बाबुरामका लागि गाेरखा २ छाेड्न नसक्ने भन्दै चर्काे विराेध गरेका पाण्डे माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नै आउने भएपछि संघबाट प्रदेशतिर छरे । प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवासंगको पटक पटक भएको भेटमा उनै पाण्डेलाई मुख्यमन्त्री बनाउने आश्वसन दिदैं आएको दावी गर्नेहरू पनि छन् । तर, उनै पाण्डेलाई गोरखा–२ (१) मा निर्वाचन लड्न सहज भएन । किनपनि भने गण्डकी प्रदेशका उर्जामन्त्री हरिशरण आचार्यको दावी थियो भने गोरखा २ (२) मा कांग्रेसका महासमिति सदस्य तथा प्रदेश सांसद प्रकाशचन्द्र दवाडी स्वाभिक दावेदार थिए ।
तर, लोकतान्त्रिक गठबन्धनका शिर्षनेताहरूको बाक्लो उपस्थिति रहेको गोरखा २ मा प्रदेशका मन्त्री तथा सांसदलाई चक्मा दिदैं पाण्डेलाई प्रदेश २ मा र बाबुराम निकटका रहेका फणिन्द्र देवकोटालाई गोरखा २ (१) मा उम्मेदवार बनायो । तर पनि सांसद दवाडी र मन्त्री आचार्यलाई चक्मा दिदैं पाण्डेको क्षेत्र नै परिवर्तन गरे । उनै पाण्डे नेकपा एमालेका उम्मेदवार बसन्त गुरूङलाई ११ हजार ५१७ मतका साथ निर्वाचित भए। पाण्डेले १६ हजार ८८७ मत ल्याएका थिए भने उनका निकटम प्रतिद्वन्द्वी गुरूङले ५ हजार ३७० ल्याए ।
संसदीय दलको नेता बन्न शक्ति केन्द्र धाउदै
प्रत्यक्षतर्फ १७ सिटमा जित हासिल गर्दै गण्डकी प्रदेशमा सबैभन्दा ठुलो पार्टी बनेको कांग्रेसभित्र संसदीय दलको नेता बन्न नेताहरुबीच दौडधुप सुरु भएको छ । दलको नेता बन्न नेताहरुमध्ये गण्डकी प्रदेशको काम चलाऊ सरकारका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापा र पाण्डे प्रबल दाबेदारका रूपमा अघि सरेका छन् ।
थापा कास्की २ (ख) बाट दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका हुन् भने पाण्डे गोरखा क्षेत्र नं. २ (ख) बाट निर्वाचित भएका हुन् । गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने दाउमा रहेका यी दुवै नेता संस्थापन समूहका नेता हुन् । संसदीय दलको नेता बन्न दुवै नेता शक्तिकेन्द्र धाउन थालेका छन् । दलको नेता चुनिएपछि मुख्यमन्त्री बन्ने बाटो खुल्छ । त्यसैले दुवै नेता मुख्यमन्त्री बन्ने दाउमा दलको नेता चुनिने कसरतमा छन् । पाण्डे गृहमन्त्री बालकृष्ण खाँड निकटका हुन् ।
ठुलो दल कांग्रेस भएकाले उसकै नेतृत्वमा सरकार गठन हुनेमा दुवै नेता विश्वस्त छन् । प्रत्यक्षतर्फ ३६ सिट रहेको प्रदेश सभामा कांग्रेस १८, एमाले १२, माओवादी ४, माओवादीकै चुनाव चिन्हमा चुनाव लडेको जसपा १, स्वतन्त्र सांसद १ गरी ३५ जनाले सांसद छन् । २४ सिटको समानुपातिकतर्फ कांग्रेस ८, एमाले ९, माओवादी ४ र बांकी ३ सिट अन्य दलको पाउने अनुमान छ ।