काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छैटौंपटक प्रधानमन्त्री बन्नका लागि पार्टीभित्रबाट पहल थालेका छन् ।
देउवा आफ्नै नेतृत्वमा गठबन्धन सरकारको निरन्तरता चाहिरहेका छन् र त्यसका लागि कांग्रेस संसदीय दलको नेता चुनिनुपर्ने वैधानिकता पूरा गर्न बाँकी छ ।
देउवाले अहिलेसम्म दलको नेतामा औपचारिक दाबी नगरे पनि उनले शीर्ष नेताहरूसँग छलफल थालेका छन् । पूर्व महामन्त्री शशाङ्क कोइरालासँग मङ्गलवारको भेटमा देउवाले दलको नेतामा आफूलाई सघाउन आग्रह गरेको शशाङ्कको सचिवालयले जनाएको छ ।
चुनाव जितेपछि भएको पहिलो भेटमा देउवा र कोइरालाबीच बधाई आदान प्रदान मात्र भएको र देउवाले आफूलाई सघाउन आग्रह गरेको बताइएको छ । यसअघि देउवाले आफू निकट नेताहरू पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्कीलगायतलाई पार्टीभित्र र बाहिर आफ्नै नेतृत्वको सरकार गठनका लागि पहल गर्न खटाइसकेका छन् ।
महाधिवेशनकै बेला देउवातिर समूह फुटेर तीन समूहमा तितरबितर भएको थियो । अहिले पनि रामचन्द्र र शशांक एउटा समूहमा छन् भने प्रकाशमान सिंहले अलग समूह बनाएका छन् ।
शेखर-गगन समूह महाधिवेशनको आधारमा एक ठाउँमा प्राविधिक रुपले देखिए पनि सोही समूहका नेताहरूले टिकट लिने बेलामै देउवासँग सम्झौता गरिसकेका छन् ।
देउवाले समानुपातिकको समेत नतिजा टुंगिएर संसदीय दलको आकार बनेपछि दलको नेतामा औपचारिक दाबी गर्ने भएका छन् ।