काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोग निष्प्रभावी भएको भन्दै संसदका महासचिव भरतराज गौतमले सर्वोच्चमा पत्र पठाएपछि राजनीति र कानुनी वृत्त तरंगित भएको छ।
संसद सचिवालयले महाअभियोग निष्प्रभावी भएको पत्र पठाएपछि सर्वोच्चको बुधबार बसेको फुलकोर्ट बैठकले उल्टै ६ वटा प्रश्न सोधेको छ।
बुधबार सर्वोच्च अदालतमा संसद सचिवालयको पत्र पुगेपछि बसेको फुलकोर्टको बैठकले महासचिव गौतमसँग जवाफ माग्दै पत्र पठाएको हो।
सर्वोच्चका सह-रजिस्ट्रार नारायणप्रसाद रेग्मीले पठाएको पत्रमा ती प्रश्नको जवाफ तत्काल उपलब्ध गराउन भनिएको छ।
महाअभियोगबारे संसदका महासचिवलाई सर्वोच्चका ६ प्रश्नहरु
१) प्रतिनिधि सभामा मिति २०७८ फागुन १ गते दर्ता भएको महाअभियोग प्रस्तावका सम्बन्धमा महाभियोग सिफारिस समितिबाट प्रतिनिधि सभामा पेस भएको भनिएको प्रतिवेदनउपरको कारबाहीको निरन्तरता अहिले कायम छ वा छैन?
२) नयाँ प्रतिनिधि सभामा सो प्रस्ताव पेस हुने वा नहुने के हो?
३) उक्त महाअभियोग प्रस्ताव तत्कालिन प्रतिनिधि सभाको कार्यकाल समाप्त भएको मितिले निष्प्रभावी भएको भनिएको हो?
४) वा निर्वाचन भएको मितिले निष्प्रभावी भएको हो?
५) महाअभियोग लागेका सम्माननीय प्रधानन्यायाधीशले निवेदन दिनुभएको मितिले निष्प्रभावी भएको भनिएको हो ?
६) नवनिर्वाचित प्रतिनिधि सभाले कार्य प्रारम्भ नगर्दैको अवस्थामा कुन संवैधानिक वा कानुनी व्यवस्थाको आधारमा महासचिवले महाअभियोगको प्रस्ताव निष्प्रभावी भएको भनि उल्लेख गर्नु भएको हो?
सर्वोच्चले यी प्रश्न सोध्दै संसदमा पत्र पठाएको छ। यी कुराको जानकारी तत्काल उपलब्ध गराउन माग गर्ने बुधबारको फुलकोर्टको बैठकले निर्णय गरेको छ।