काठमाडौं– अबदेखि फौजदारी मुद्दाको अभियोगपत्र अनलाइन माध्यमबाटै हेर्न सकिने भएको छ। काठमाडौं जिल्ला अदालत बार एशोसिएसनको पहलमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयबाट दायर हुने फौजदारी मुद्दाको अभियोगपत्र अनलाइन माध्यममार्फत सार्वजनिक गरिने व्यवस्था मिलाइएको हो।
एशोसिएसनको अगुवाइमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले फौजदारी मुद्दाको अभियोगपत्र अनलाइनमा अपलोड गर्ने कार्यको आइतबारबाट सुरुआत गरेको हो।
यससँगै काठमाडौं जिल्लामा चल्ने फैजदारी मुद्दाको अभियोगपत्र सम्बन्धित सरकारी वकिल कार्यालयको वेबसाइटबाट हेर्न सकिने छ। जिल्ला अदालतमा दर्ता भएका फौजदारी मुद्दाहरु कार्यालय समयपछि वेबसाइटमा अपलोड हुने छन्।
कुनै कसूरको अभियुक्त भइसकेपछि आफूविरुद्ध अनुसन्धानको क्रममा जुटाएका प्रमाणहरु के–के छन्, मविरुद्ध कुन दफा लगाइएको छ भनी थाहा पाउने अधिकार प्रतिवादीको संवैधानिक अधिकार रहेको छ।
संविधानले दिएको यही अधिकारको पहुँच सरल तथा सहज रुपमा अभियुक्तका वकिल र मुद्दा सम्बन्धी सरोकार राख्ने हरेक सरोकारवालाहरु सम्म पुर्याउने उद्देश्यले अभियोगपत्र अनलाइनमार्फत सार्वजनिक गरेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेले बताए।
अदालतलाई प्रविधिमैत्री, नमूना र जनताको अदालत बनाउनुपर्छ भन्ने अवधारणा अपनाउँदै आएको र अनलाइनमार्फत फौजदारी मुद्दाको अभियोगपत्र जारी हुनु नै अदालत प्रविधि नजिक र जनतामाझ पुगेको एशोसिएसनका अध्यक्ष रामचन्द्र पौडेलले बताए।