काठमाडौँ- एनसेलले २०२३ मा नेपालमा फाइभजी परीक्षण गर्ने भएको छ। प्राविधिक रुपमा यसको तयारी गरिरहेको भन्दै एनसेलले सरकारले अनुमति दिए परीक्षण गर्नसक्ने जनाएको हो।
एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एन्डी चाङले फाइभीको लागि तयारी गरिरहेकोले अर्को वर्ष परीक्षण गर्न सकिने जानकारी दिए। उनले फाइभजी प्रविधि प्रयोगको लागि पूर्वाधारमा थप विस्तार आवश्यक रहेको औँल्याए।
एनसेलकै चिफ इन्फरमेसन अफिसर्स विशालमणि उपाध्यायले ट्रायल गर्नको लागि स्पेक्ट्रम आवश्यक रहेको बताए।
‘स्पेक्ट्रमको लागि मन्त्रालयबाट अनुमति लिनुपर्छ’, उपाध्यायले भने, ‘हामीले धेरै समयअघि निवेदन दिएका हौँ। परीक्षणको लागि अनुमति पाएनौँ।’
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी लिमिटेडलाई फाइभजी परीक्षणको लागि अनुमति दिएको छ। परीक्षणको लागि नेपाल टेलिकमले प्रविधि भित्र्याई परीक्षणको तयारीमा छ।
‘हामीले अनुमतिको लागि मन्त्रालयसँग फलोअप गरिरहेका छौँ’, उनले भने, ‘मन्त्रालयले जुन दिन गर्न अनुमति दिन्छ। छिट्टै ट्रायल गरेर अगाडि बढ्नसक्ने अवस्थामा छौँ।’
फाइभजीका ग्राहक व्यक्तिभन्दा बढी व्यावसायिक क्षेत्र हुने उपाध्यायको भनाइ छ। फाइभजी प्रयोगमा आउँदा जति व्यवसाय क्षेत्रले लाभ लिनसक्छ व्यक्तिले त्यति नपाउन सक्छ। फाइभजीको पूर्वाधार तयार गर्न नीतिगत रुपमा निर्णय गर्नुपर्छ।
मोबाइल ब्रोडब्यान्डमा थ्रिजी प्रयोगकर्ता १९ लाख ४९ हजार रहेका छन् भने फोरजीका ६७ लाख ८२ हजार रहेका छन्। एनसेलले ८५ प्रतिशत ग्राहकले फोरजी प्रयोग गर्ने र ९० प्रतिशत क्षेत्रमा पहुँच पुगेको जनाएको छ।