काठमाडौँ- निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित सांसदहरूको सूची आज सार्वजनिक गर्दै छ।
आयोगका सूचना अधिकारी एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आज दिउँसो साढे १ बजे समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य बनेकाहरू निर्वाचित भएको घोषणा गर्ने कार्यक्रम छ।
समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभातर्फ ११० र प्रदेशसभातर्फ २२० जना सांसद चुनिएका छन्।
समानुपातिकमा ‘थ्रेसहोल्ड’ (कूल सदर मतको ३ प्रतिशत) कटाएर राष्ट्रिय दलसमेत बनेका नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले आफूले प्राप्त गरेको समानुपातिक सिट संख्याअनुसार बन्दसूचीबाट समावेशिता (क्लस्टर) मिलाएर आयोगमा नामावली पेस गरेका थिए।
समावेशिताबमोजिम सूची नपठाएका दलहरूलाई आयोगले सच्याउन समय दिएको थियो। सोअनुसार सूची सच्याउनुपर्ने दलहरूले सच्याएपछि आयोगले आज समानुपातिक सांसद निर्वाचित भएको घोषणा गर्न लागेको हो।
यही मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ निर्वाचित सांसदको सूची भने यसअघि नै सार्वजनिक भइसकेको छ।