फाइल तस्बिर : २०७७ वैशाख १२
काठमाडौँ- वामपन्थी सरकार गठनको विषयमा चर्चा चलिरहेको बेला नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।
मंगलबार साँझ ओलीलाई भेट्न महासचिव गुरुङ बालकोट पुगेका थिए । अध्यक्ष ओली प्रतिनिधिसभामा निर्वाचित भइसकेपछि बधाई दिनमात्रै गएको महासचिव गुरुङले बताए ।
उनले भने, ‘उहाँ विजयी हुनुभएको छ । उहाँलाई बधाई दिनमात्रै गएको हुँ ।’ ओलीसँग भेटेर एमाले माओवादी मिलेर सरकार बनाउने विषयमा छलफल थाल्नुभएको हो ? भन्ने नेपालप्रेसको जिज्ञासामा उनले त्यसमा छलफल नभएको बताए ।
उनले भने, ‘सरकार गठनको विषयमा छलफल भएको छैन । बाहिर हल्ला धेरै हुन्छ।’
नयाँ सरकार निर्माणको दौडधुप बढिरहेका बेला दुई प्रमुख कम्युनिष्ट एमाले र माओवादी केन्द्रले वार्ताको ढोका खोल्न थालेका छन्। मंसिर ४ को आमनिर्वाचनमा बहुमत ल्याउन नसकेपछि समस्या परेको सत्ता गठबन्धनले बहुमत जुटाउने कोसिस तीव्र पारिरहेका बेला एमाले र माओवादीबीच पनि संवाद सुरु भएको हो।
मंसिर ४ को चुनावी परिणाम निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारी कहाँ बुझाउने तयारी गरिरहेका बेला सरकार निर्माणका अनेक प्रयास सतहमा आइरहेका छन्। त्यहीक्रममा एमाले र माओवादीबीच फेरि संवाद हुन थालेको हो।
सत्ता समीकरणको रस्साकस्सी चलिरहेका यसअघि मंसिर १९ मा एमाले सचिव रघुवीर महासेठले प्रचण्डलाई भेटेका थिए। एमालेका विष्णु पौडेल, सुवास नेम्वाङ र पृथ्वीसुब्बा गुरुङले वाम गठबन्धन बनाएर जाने दिशामा छलफलमा छन्। उनीहरुले नेतृत्वलाई पनि मिलेर नगए कम्युनिष्टहरुको अस्तित्व नै संकटमा पर्ने बताइरहेका छन्।
माओवादीमा पनि केही नेताहरु एमालेसँग मिलेर जानुपर्ने दिशामा छन्। यसअघि दुवै दलका दोस्रो तहका नेताहरुले ओली र प्रचण्डको भेट गराउन खोजेका थिए।
देउवालाई प्रचण्डको ‘प्रेसर’
अहिलेको गठबन्धनले सरकार सञ्चालनका लागि पूर्ण बहुमत नल्याएकाले जनमत पार्टीलाई सरकारमा भित्र्याएर आफू प्रधानमन्त्री हुने देउवाको रणनीति छ। संसद्मा तेस्रो तर निर्णायक शक्तिको रूपमा स्थापित भएको माओवादीले आफूले नेतृत्व नपाए प्रतिपक्षीमा बस्नेसम्मको विकल्प राखेर कांग्रेससँग बार्गेनिङ गर्न थालेको बुझ्न कठिन छैन।
कांग्रेसभित्रै पार्टी सभापति देउवादेखि महामन्त्री गगन थापासहित आधा दर्जन प्रधानमन्त्रीको आकांक्षी रहेका बेला माओवादीले यसको फाइदा उठाउन खोजेको राजनीतिक वृत्तमा चर्चा छ। माओवादीले कांग्रेस नेतृत्वको गठबन्धनबाट प्रधानमन्त्री नपाए एमालेसँग सहकार्य गर्छ कि भन्ने डर देउवालाई छ। कांग्रेसभित्र प्रधानमन्त्रीका लागि भइरहेको रडाकोको लाभ लिने दाउमा माओवादी रहेको देखिन्छ। यसको संकेत माओवादी प्रवक्ता कृष्णबहादुर महराले दिइसकेका छन्।
‘अहिले हामी गठबन्धनमै छौं। बहुदलीय व्यवस्थामा अन्य पार्टीसँग छलफलको कुरालाई खुला राख्नु स्वाभाविक हो। माओवादीलाई जताबाट फाइदा पुग्छ, त्यतै लाग्ने हो,’ महराले शनिबारको बैठकपछि पत्रकारलाई भनेका थिए।
उनले भने, ‘सम्भावित तीन विकल्पबारे एमालेले गृहकार्य गरिरहेको छ। अहिले सरकार बन्ने पहिलो परिस्थिति भनेको कांग्रेस–माओवादी, एमाले–माओवादी र कांग्रेस–एमालेको हो। त्यसैले हामीले सबै विकल्पमा छलफल गरिरहेका छौं। सबैसँग संवाद भइरहे पनि कम्युनिस्ट पार्टी एक भएर सरकारको नेतृत्व लिन सक्नुपर्छ,’ उनले भने। राजनीतिमा असम्भव केही नहुने हुँदा अहिले नै यही हुन्छ भन्न सक्ने अवस्थामा भने नरहेको उनले बताए।
प्रचण्डको जोड पहिलो चरणमै प्रधानमन्त्री लिने
यता प्रचण्ड गठबन्धनबाट पहिलो चरणमै प्रधानमन्त्री बन्न जोडतोडका साथ लागेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चुनाव लगत्तै प्रधानमन्त्री हुने भद्र सहमति भएको र सोहीअनुसार पहिलो चरणमै प्रधानमन्त्री आफूले पाउनुपर्ने अडानमा प्रचण्ड छन् । यद्यपि संसदीय अंकगणितमा माओवादी तेस्रो (त्यसमा पनि संख्या कम) भएपछि प्रचण्डले सजिलै कांग्रेसको समर्थनमा प्रधानमन्त्री पाउन भने कठिन छ । त्यसैले प्रचण्डले आफ्नो पक्षमा ६० भन्दा बढी सिट पार्न नेकपा एकीकृतसहितका विभिन्न साना दलका नेताहरुसँगको निरन्तर भेटघाट र लबिङमा छन् ।
प्रचण्ड माओवादीको ३२ सिटसहित एकीकृत समाजवादीको १० सिट, जसपाको १२ सिट, जनमत पार्टी ५ सिट, नागरिक उन्मुक्ति पार्टीको ४ सिट र प्रभु साह समुहको २ सिट आफ्नो पक्षमा पार्न लबिङमा रहेका हुन् । ती सबै दल तथा समूहका सांसदलाई आफ्नो पक्षमा पार्न प्रचण्डसहित नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई समेत लागिपरेको नेताहरुको भनाइ छ ।
पहिलो चरणमै प्रधानमन्त्री हुन नसके दोस्रो चरणमा थप सकस हुने बुझाइका साथ प्रचण्डले पहिला आफूले नेतृत्व पाउनुपर्ने दाबी गरेको बुझिएको छ ।