काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय दलको नेतामा आफूलाई सघाउन प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवासँग आग्रह गरेका छन्।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका पौडेलले यदि त्यसो हुन सकेमा आफ्नो पक्षमा सर्वसम्मत माहोल बन्ने पनि दाबी गरे।
‘मलाई संसदीय दलको नेतामा प्रस्ताव गर्नुस्, म सर्वसम्मत दलको नेता हुन्छु,’ पौडेलले देउवासँग आफ्नो भनाइ उद्धृत गर्दै नेपालखबरसँग भने। जवाफमा प्रधानमन्त्री देउवाले यसबारे पछि पार्टी कार्यसमितिमा सल्लाह गरौँला भन्ने जवाफ दिएका छन्।
‘कार्यसमितिको बैठक बस्नुपर्यो अनि सल्लाह गरौँला,’ देउवाको भनाइ उद्धृत गर्दै पौडेलले भने, ‘उहाँले भन्ने नै त्यही हो।’
स्रोतका अनुसार नेताद्वयबीच ४५ मिनेट कुराकानी भएको थियो । पौडेलले गिरिजाप्रसाद कोइरालाको पालामा उनीसँग देउवाले संघर्ष गर्दा आफूले साथ दिएको स्मरण गराएका थिए ।
साथै, यस गठबन्धनको निर्माण गर्न र टिकाउन पनि आफूले भूमिका खेलेको उनले बताए । ‘मेरो भूमिकालाई न्याय गर्दै मलाई संसदीय दलको नेता चुनिन सहयोग गर्नुस्’, पौडेललाई उद्धृत गर्दै स्रोतले भन्यो । आफू प्रधानमन्त्री बन्दा सबैले स्वीकार्ने दावी पनि उनले गरे ।
देउवाले पौडेललाई ठोस जवाफ दिएनन् । उनले गठबन्धन टिकाउँदै पार्टी पनि मिलाएर जानुपर्नेमा जोड दिएका थिए ।