काठमाडौं– निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न आम निर्वाचन–२०७९ को परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएसँगै राजनीतिक दलहरुलाई नयाँ सरकार गठन गर्ने बाटो खुला भएको छ ।
आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीहरुले चुनाव सम्पन्न भएको २५ दिनपछि बिहीबार शीतलनिवास पुगेर राष्ट्रपति भण्डारी समक्ष मत परिणामको विवरण प्रतिवेदन बुझाएका हुन् ।
वर्तमान सत्ता गठबन्धनका चार दलले नयाँ सरकार बनाउने बहुमत नपाएपछि विपक्षी खेमामा रहेको नेकपा एमालेले पनि सरकार बनाउने विषयमा अनौपचारिक छलफल थालेको छ ।
अनौपचारिक छलफलकै क्रममा एमालेले सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रलाई गठबन्धन छाडेर आए सरकार गठनका लागि सबै विकल्प खुला राख्ने सन्देश पठाएको छ। माओवादीलाई गठबन्धन छाड्न गाह्रो देखिएको छ ।
‘गठबन्धन छाडेर आए कुनै न कुनै विकल्पबारे छलफल गर्न सकिन्थ्यो । त्यो भनेको प्रचण्डलाई प्रधानमन्त्री पनि हो तर त्यसका लागि गठबन्धन छाडेर आउनुपर्ने भनेर हामीले भनेका छौं,’ माओवादी केन्द्रका नेताहरूसँग अनौपचारिक कुराकानी गर्दै आएका एमालेका एक पदाधिकारीले भने ।
माओवादी केन्द्रले एमालेलाई देखाएर कांग्रेससँग आधा-आधा कार्यकाल बाँडेर सुरुमा प्रधानमन्त्री लिन खोजेको छ । एमालेको बुझाइ पनि आफ्ना नेताहरूसँगको भेटघाटलाई देखाएर माओवादी केन्द्रले कांग्रेससँग ‘बार्गेनिङ पावर’ बढाइरहेको भन्ने हो ।
‘माओवादी केन्द्रका नेताहरूले एमालेलाई देखाएर कांग्रेससँग शक्ति बाँडफाँटबारे कुरा गरिरहेका छन् । उनीहरूले गठबन्धन छाडेर हामीसँग कुरा गरून् । सबै विकल्पमा खुला छलफल हुन्छ, एमालेका एक पदाधिकारीले भने ।
चुनावी परिणाम अनुसार प्रतिनिधि सभामा ८९ सिट जित्दै कांग्रेस पहिलो दल भएको छ । त्यसैगरी एमालेले ७८ सिट, नेकपा (माओवादी केन्द्र) ३२ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले २० सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले १४ सिट, जनता समाजवादी पार्टीले १२ सिट, नेकपा (एकीकृत समाजवादी)ले १० सिट, जनमत पार्टीले ६ सिट, लोकतान्त्रिक समाजवादी पार्टीले ४ सिट जितेका छन् ।