काठमाडाैं- नेकपा एमालेका पोलिटब्यूुरो सदस्य सूर्य थापाले कम्युनिष्ट एकताको नाममा पटक-पटक धोका दिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्व कुनैपनि हालतमा स्वीकार नगर्ने बताएका छन् ।
बिहीबार बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्र्दै प्रतिनिधिसभा सदस्य थापाले कांग्रेसको नेतृत्वमा मोर्चा बनाएर एमालेलाई सत्ताच्युुत गर्ने, चुनावमा पराजित गर्न भएभरका शक्ति प्रयोग गर्ने अनि कतै पनि पार नलाग्ने अवस्थामा पुन एमालेमा घुस्रिन आउनेलाई नेता मान्न नसकिने तर्क गरेका छन् ।
नेकपा एमालेले वामपन्थी एकता वा कुनै पनि मोर्चाको मुरली बजाउने नाममा प्रचण्डलाई प्रधानमन्त्री बनाउने काममा एमाले नलाग्ने बताउँदै थापाले भने, ‘प्रचण्डको नेतृत्व फेल भएको, असफल भएको प्रमाणित भइसक्यो, एमालेका अध्यक्षलाई चार पटक फालेर पार्टी नै कब्जा गर्न खोजिएको दुनियालाई अवगत छ, अझै किन ल्याएर पूजा गर्ने ? कुनै हालतमा मिल्दैन, कतैबाट आए म नोट अफ डिसेन्ट लेखेर मैदानमा आउँछु ।’
‘प्रचण्डलाई प्रधानमन्त्री बनाउने नाममा कुनै एकता वा मोर्चा बनाउने काममा एमाले लाग्दैन, एमाले सकेसम्म आफ्नै नेतृत्वमा सरकार बनाउँछ नभए नेपाली कांग्रेसलाई समर्थन गरेर प्रतिपक्षमा बस्छ, अहिलेको जनादेशले स्थितरता रहने अवस्था छैन’ थापाले भने ।