काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले बलात्कारबारे बोलेको एक पुरानाे भिडिओको क्लिप्स सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उनले त्यस भिडिओमा बलात्कारबारे बोलेको कुराप्रति महिला अभियन्ता एवं अधिकारकर्मीहरूले आपत्ति जनाएका छन्।
काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसमा सदस्य गौतमले उक्त भिडिओमा बलात्कारलाई समाजले ठूलो विषय बनाएको, यसको नाममा डलर ल्याइएको र यसलाई सामान्यीकरण गर्नुपर्ने बताएकी छन्।
अन्तर्वार्तामा उनले बलात्कार भएकी महिला र दुई खुट्टा काटिएकी महिलामा पछिल्लोचाहिँ बढी पीडित हुने, बलात्कृत महिला खासै पीडित नहुने तर्क गरेकी छन्।
भिडिओ क्लिप्समा उनले भनेकी छन्, ‘म आफ्नै उदाहरण दिन चाहन्छु। मलाई कसैले बलात्कार गर्यो। म पीडित महिला भएँ नि त, एउटा सिनारियो। अर्काे सिनारियो– कोही मान्छे आएर मेरो खुट्टा काटिदियो, दुईटै खुट्टा काटिदियो। अब दुईवटा इन्सिडेन्ट (घटना) लाई कम्पियर (तुलना) गरेर हेर्नुस्– म बलात्कृत महिला धेरै विचरा भएँ या मेरो कसैले खुट्टा काट्यो त्यो सोबिता विचरा भई? यसरी हेर्दा त खुट्टा काटेको जघन्य अपराध हो नि त! जिन्दगीभरि खुट्टा काटिएपछि त अब के गर्ने? मेरो जिन्दगी सकियोे! तर बलात्कृृत हुँदैमा चाहिँ पुनःस्थापना हुनका लागि चाहिँ कुनै पनि गाह्रो छैन। अन्टिनेन अनलेस हाम्रो शरीरमा कुनै पनि हानि नोक्सानी हुँदैन। त्यसले दीर्घकालीन असरहरू केही पार्दैन, खालि समाजले चाहिँ त्यो बलात्कार भन्ने विषयलाई यत्रो ठूलो बनाइदियो कि हामीले यस्तो ग्लोरीफाई गर्यौँ कि डलरहरू ल्याउने हैन, अनि समाजमा बलात्कार भन्नेबित्तिकै त्यल्लाई यस्तो ग्लोरिफाई गरेको कारण नै महिलाहरूचाहिँ बढी भावुक भाको जस्तो लाग्छ मलाई चैँ, यसलाई सामान्यीकरण गर्नुपर्छ।’
उनको उक्त भनाइविरुद्ध सामाजिक सञ्जालमा व्यापक विरोध/आलोचना भइरहेको छ।
उक्त भिडिओ सेयर गदृै राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य एवं महिला अधिकारकर्मी मोहना अन्सारीले भनेकी छन्, ‘बलात्कार सामान्य हो तर खुट्टा काटिनु ठूलै रहेछ! बलात्कृतको शरीर सद्दे हुन्छ र बलात्कार हुनु सामान्य हो भन्ने सासंद केही दिनमा संसद् प्रवेश गर्दै छिन्। सोच्नुस् कस्तो भविष्य हुने छ बालिकाको? न्यायको माग गर्नु डलर ल्याउनु रहेछ!’
अमृता लम्सालले पनि सोबिता गौतमको आलोचना गरेकी छन्। उनले भनेकी छन्, ‘सोबिता गौतमजी, केही दिनअगाडि तपाईंको स्पष्ट विचार र आत्मविश्वासले भरिएको भिडिओ क्लिपबाट प्रभावित भएर सेयर गरेकी थिएँ। मैले सेयर गरेको भिडिओको सन्देश मेरै वालबाट पनि हजारौंले हेर्नुभएको थियो। एउटा युवा नेतृत्वले आशा र भरोसा जगाएको महसुस भएको थियो। तर, त्यो भिडिओ (लिंक, तल छ) अर्धसत्य मात्रै रहेछ। भ्रम चिर्ने भिडिओ त यता पो भेटेँ। तपाईंको बुझाई देखेर निःशब्द भएँ।’