काठमाडौं– प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीबाट निर्वाचित प्रतिनिधि सभाका सांसदहरूलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री देउवाले पार्टीबाट निर्वाचित प्रतिनिधि सभाका सांसदहरूलाई शनिबार आफ्नै सरकारी निवास बालुवाटारमा बधाई दिँदै सो निर्देशन दिएका हुन्।
प्रतिनिधि सभामा निर्वाचित सबै सांसदलाई प्रधानमन्त्री देउवाले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएको सञ्चारमन्त्री र सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
उनले कांग्रेसकै नेतृत्वमा गठबन्धन सरकार बन्ने र त्यसमा सबै पक्षलाई समेटेर अघि बढन आफूहरूले चाहेको पनि स्पष्ट पारे।
‘यो कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीजीले संसद्मा सबैलाई प्रभावकारी भूमिका निर्वाह गर्नका लागि निर्देश गर्नुभएको छ। अरु राष्ट्रिय राजनीतिको बारेमा गठबन्धन जारी छ। गठबन्धनलाई जनताले अनुमोदन गरेका छन्। र, चाँडै नै गठबन्धनको बैठक बसेर अरु कुराहको निर्णय हुनेछ,’ उनले भने, ‘र, त्यो निर्णयको जानकारी म तपाईंहरूलाई गराउनेछु। तपाईं अनुमान गर्न सक्नु हुन्छ। गठबन्धनको बैठक भइसकेपछि त्यसको निर्णयमात्रै मैले तपाईंहरूलाई जानकारी गराउन सक्दछु। गठबन्धनकै नेतृत्व सरकार बन्छ। हामी सबैलाई समेटेर राष्ट्रिय एकताका साथ अघि बढन चाहन्छौं। ’
मन्त्री कार्कीले चाँडै नै सत्तारुढ गठबन्धन दलको बैठक बस्ने र सरकारको नेतृत्वलगायतका विषयमा ठोस छलफल हुने विश्वास समेत व्यक्त गरे। उनले सत्तारुढ गठबन्धनले निर्णय गरेपछि मात्रै सरकार गठनबारे आफूले केही भन्न सक्ने पनि बताए।