काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष गठबन्धनका तर्फबाट आफूलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छन् ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा अध्यक्ष प्रचण्डले देउवासमक्ष सो प्रस्ताव राखेका हुन् ।
अध्यक्ष प्रचण्डले गठबन्धनकै सहयोगमा प्रधानमन्त्री भएर निर्वाचन सम्पन्न गराएको र गठबन्धन नेतृत्व सरकारको कार्यकाल सफल रहेको भन्दै अब बन्ने नयाँ सरकारको नेतृत्वका लागि सहयोग गर्न आग्रह गरेको बताइएको छ ।
जवाफमा प्रधानमन्त्री देउवाले गठबन्धनमा यो विषयमा छलफल गर्ने भनी जवाफ दिएको प्रचण्डको निजी सचिवालय स्रोतले जनाएको छ । ‘गठबन्धनमा जे सहमति हुन्छ त्योअनुसार अगाडि बढ्न आफू तयार रहेको धारणा प्रधानमन्त्री देउवाले राख्नुभयो’ स्रोतले भन्यो ।
प्रचण्ड अहिलेकै गठबन्धनको नेतृत्वमा सरकार बनाउन र पहिलो पालोमा आफू प्रधानमन्त्री हुन चाहेका छन् । त्यसका लागि राष्ट्रपति, प्रधानमन्त्री, सभामुखजस्ता प्रमुख पदको भागवण्डाबारे छलफल गर्न चाहन्छन् ।
सम्भवतः कांग्रेस संसदीय दलको नेता चयनका लागि आगामी साता निर्वाचन हुनेछ । देउवा भने त्यसअघि शक्ति बाँडफाँटबारे छलफल गर्न नचाहेका उनी निकट स्रोतले बताएको छ । कांग्रेसमा संसदीय दलको नेता जो चयन हुन्छ, पार्टीले सरकारको नेतृत्व गरेको अवस्थामा उही नै प्रधानमन्त्री बन्ने प्रचलन छ ।