काठमाडौं- माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ । बैठकमा संसदीय दलको निर्वाचन, नयाँ सरकार गठनको पहल लगायतका विषयमा छलफल हुने छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा दाबी गरेका छन् । यसबारे उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग शनिबार छलफल गरेका थिए । यद्यपि पहिलो चरणको नेतृत्वमा देउवासमेत दावेदार भएकाले सहमति जुटेको छैन ।
माओवादी केन्द्रमा संसदीय दलको नेताका लागि विवाद छैन। पार्टी अध्यक्ष प्रचण्ड सर्वसम्मत दलको नेता चुनिने भएपनि सरकार गठन लगायतका अन्य विषयमा छलफल गर्नका लागि बैठक आह्वान भएको हो।
यसअघि गत १७ र १८ गते पनि पदाधिकारी बैठक बसेको थियो। पदाधिकारी बैठकले सरकारमा जाने सबै विकल्प खुला गरेको जनाएको थियो। यद्यपि पछि नेताहरुले सो निर्णय नभएको बताएका थिए।