काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकार बनाउने विषयमा दायाँबायाँ लागे आफूहरु घर न घाटको हुने बताएका छन् ।
नवनिर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना दिँदै अध्यक्ष नेपालले कस्तो किसिमको सरकार बन्ला भन्ने विषयमा पनि चर्चा उठेकाले दायाँबायाँ लागे आफूहरु घर न घाटको हुने बताएका हुन् ।
उनले कसैको पनि बहुमत नआएको स्थितिमा गठबन्धनकै सरकार बन्ने बताए ।
‘कसैले गैरवामपन्थी सरकार बनाउने कुरा उठाउने गरेका छन्, त्यो खयाली पुृलाव मात्र हो । कसैले वामपन्थीको सरकार बनाउने कुरा सोचिरहेको छ, त्यो पनि अलमल्याउने कुरामात्र हो । त्यसो हुनाले यस्तो कुरालाई सजिलो गरी पत्याउन सक्तैनौं’ अध्यक्ष नेपालले भने, ‘भएकाको विश्वास गुमाउने अनि हुदै नभएकाको विश्वास गरेर घर न घाटको हुने, त्यस्तो गल्ती हामी गर्न सक्दैनौं ।’
उनले अहिले नै नेकपा एमालेसँग मेलमिलाप हुन सक्ने सम्भावना नभएको पनि संकेत गरे । ‘एकातर्फ हामीले मित्रहरुको खोजी र पहिचान पनि गर्ने र मान्छेमा परिवर्तन र रुपान्तरण भइरहेको छ भने, आत्मालोचना देखिएको छ भने साँच्चै सुध्रिएको अवस्था देखिएको छ भने आग्रह पालेर नबस्ने, यो दुईवटै कुरामा उत्तिकै ध्यान दिएर चल्नुपर्छ’ उनले भने ।
नेता नेपालले अगाडि भने, ‘तर भ्रम पालेर बसियो भने त्यसपछि जुन परिणामको सामना गर्नुपर्छ, त्यसपछि हामीलाई बचाउने कोही हुने छैन, घर न घाटको अवस्थामा पुग्नेछौं ।’
२०७४ को चुनावमा आएको जनादेशबाट राम्रो शिक्षा लिएर अगाडि बढेको भए अहिले बेग्लै नतिजा आउने भन्दै उनले तर सबै कुरा आफूहरुको हातमा नभएको बताए । ‘वास्तवमा २०७४ सालको जनादेशबाट शिक्षा लिएर राम्रो ढंगले अगाडि बढेको भए बेग्लै परिणाम आउँथ्यो’ उनले भने, ‘तर हामीले चाहेर मात्र घटनाक्रम अगाडि बढ्दैन, विभिन्न पात्रको भूमिकाले ठूलो प्रभाव पार्छ ।’