काठमाडाै- सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भई बिहिबारबाट एकिकृत कारोबार गर्ने भएको छन् । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकिकृत जीवन बीमा कारोबार हुन लागेको हो ।
दुवै कम्पनीको कार्तिक २८ गते सम्पन्न विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो भने नेपाल बीमा प्राधिकरणले मङ्सिर २ गते र नेपाल धितोपत्र बोर्डले मङ्सिर २५ मा मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयले मङ्सिर २७ गते मर्जर तथा एकिकृत कारोबारको लागि अन्तिम स्वीकृति दिएको थियो ।
नेपालको इतिहासमा यो पहिलो सफल मर्जर हो । विभिन्न कम्पनीहरुले यस भन्दा अगाडी मर्जरको संझौता गरेपनि सफल हुन सकेको थिएन । निर्जीवन तर्फ भने दुई वटा सफल मर्जर भइसकेको छ । तर जीवन तर्फ एउटा पनि मर्जर सफल हुन सकेको थिएन । निर्जीवन बीमा कम्पनीहरु विचमा मर्जर गर्न जति सजिलो छ जीवन तर्फ धेरै गाह्रो पर्ने विश्लेषण हुँदै आएको थियो ।
सूर्या र ज्योति विचमा एक बराबर ०.८२.४५ को अनुपातमा मर्जर भएको हो । मर्जर पछि सञ्चालक समितिको अध्यक्ष केशब प्रसाद भट्टराई हुनेछन् । प्रमुख कार्यकारी अधिकृत भने ज्योति लाइफका प्रकाश बिक्रम खत्री हुने सहमति भइसकेको छ भने सूर्याका सिइओ पवन कुमार खड्का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत हुने छन् ।
हाल सूर्या लाइफको चुक्ता पूँजी २ अर्ब ५५ करोड रुपैयाँ छ । त्यस्तै ज्योतिको २ अर्ब ४२ करोड रुपैयाँ छ । स्वाप रेसियोका आधारमा ज्योति लाइफको चुक्ता पूँजी एक अर्ब ९९ करोड ५२ लाख ९० हजार कायम हुनेछ । स्वाप रेसियोका आधारमा मर्जर पछि बन्ने कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५४ करोड पुग्नेछ । दुबैले आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट लाभांश नदिएको हुँदा गत आर्थिक वर्ष २०७८/७९ सम्म कायम जगेडा कोषबाट लाभांश दिने वित्तीकै सजिलै ५ अर्ब पुर्याउन सक्नेछ ।