काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीको १४औं महाधिवेशनबाट नै नेतृत्वमा पुस्तान्तरण भएकाले संसदीय दलको नेताका लागि महामन्त्री गगन थापालाई समर्थन गर्ने निर्णयमा पुगेको बताएका छन्।
होटल बसेरामा बसेको पार्टी संस्थापन इतर पक्षको बैठकमा गगनलाई संसदीय दलको नेताको उम्मेदवारमा समर्थन गर्दै कोइरालाले १४औं महाधिवेशनको म्यान्डेटअनुसार गगनलाई सघाउने बताएका हुन्।
‘पुस्तान्तरणसहित १४औं महाधिवेशन गरेकाले गगनलाई सघाउँछु,’ उनले बैठकमा भने।
कांग्रेस संसदीय दलको नेताका लागि संस्थापन इतर पक्षबाट थापासँगै कोइराला पनि दाबेदार थिए। तर इतर पक्षबाट २ जना उम्मेदवार हुँदा जित्ने सम्भावना कम हुने भन्दै नेताहरु सहमतिका लागि जुटेका थिए।
संसदीय दलको नेताका लागि साझा उम्मेदवार तय गर्न इतर पक्षका नेताहरु सोमबारदेखि नै छलफलमा थिए। मंगलबार बिहान पनि नेताहरुबीच छलफल चलेको थियो।
संस्थापन पक्षबाट भने सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा संसदीय दलको ‘एकल’ उम्मेदवार छन्। कांग्रेस संसदीय दलको नेताका लागि सभापति देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा हुने भएको हो।
कांग्रेस संसदीय दलको नेता चयनका लागि बुधबार निर्वाचन हुँदैछ। उम्मेदवारहरुको मनोनयन दर्ताको समय भने मंगलबार दिउँसोका लागि निर्धारण गरिएको छ।