काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङबीच नयाँ सत्ता समीकरणको विषयमा छलफल भएको छ। मंगलबार बिहान खुमलटार पुगेर नेम्वाङले प्रचण्डलाई प्रधानमन्त्री बन्न औपचारिक रुपमा प्रस्ताव गरेका हुन्।
भेटमा नयाँ सत्ता समीकरण, सरकार गठन र समसामयिक राजनीतिको विषयमा छलफल भएको हो। उपाध्यक्ष नेम्वाङले वामपन्थी दलहरुबीच एकै ठाउँमा आउनुपर्नेमा जोड दिएका छन्। उनले प्रचण्डसमक्ष सत्तारुढ गठबन्धन टुटाएर एमाले-माओवादीको सरकार बनाउनुपर्ने धारणा राखेका छन्।
‘गठबन्धन छोडेर एमालेसँग सहकार्य गर्न माओवादी केन्द्र तयार होस्। एमाले तपाईं प्रचण्डलाई प्रधानमन्त्री मान्न एमाले तयार छ। तपाईं प्रधानमन्त्री बन्नुहोस्, एमाले राष्ट्रपतिमा मान्न तयार छ।’ दुई नेताबीचको संवादलाई उद्दृत गर्दै एक नेताले भने, ‘बाँकी पदहरु एमाले-माओवादीका शीर्ष नेता बसेर सहमतिमा बाँडफाड गरौंला । अहिले गठबन्धन छाडेर आउनुहोस् र एमाले माओवादीसँग छलफल र सहकार्य गर्न तयार छ। देशलाई स्थितरतातर्फ लैजान राजनीतिलाई नयाँ कोर्षबाट अगाडि बढाऔं।’
नेम्वाङले प्रचण्डलाई नयाँ सत्ता समीकरण र सरकारमा अहिले एकीकृत समाजवादीलाई नल्याउने प्रस्ताव गरेका छन्। नेम्वाङले प्रचण्डसँग भने ‘अहिले एकीकृत समाजवादीलाई नयाँ सरकारमा ल्याउन एमाले तयार छैन। एसबिनाको गठबन्धन बनाऔं।
राष्ट्रपति विद्यादेवी भण्डारीले पौष १० गतेभित्र नयाँ सरकार गठनको आह्वान गरेसँगै एमालेले शीर्ष नेताहरुसँग छलफल बढाएको हो। यस अगाडि माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेका थिए।
ओली-गुरुङबीचको भेटमा सरकार गठन प्रक्रियामा देखिएका भूराजनीतिक छाया र तीनका सम्भावित परिणामका बारेमा समेत खुलेर छलफल भएको स्रोतले जनाएको छ।
सत्ता गठबन्धनभित्र शेरबहादुर देउवा र प्रचण्डले प्रधानमन्त्रीको दावी गरिरहेका छन्।
निर्वाचन अगाडि देउवाले प्रचण्डलाई प्रधानमन्त्री बनाउने बचन दिएपनि हाल औपचारिक रुपमा सत्ता समीकरण र भावी प्रधानमन्त्रीको बारेमा सत्ता गठबन्धनमा छलफल नभएपछि एमाले गठबन्धनलाई टुटाएर नयाँ समीकरण बनाउन प्रयासरत रहेको छ।