काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउने विषयमासमेत छलफल गरिरहेको बताएका छन्।
संसदको चौथो ठूलो शक्ति भएकाले त्यसका लागि सामान्य रुपमा छलफल अघि बढाएको उनले बताएका हुन्।
उनले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबाहेक सबै दलका नेताहरुसँग छलफल गरिसकेको जानकारी दिए। यसअघि प्रधानमन्त्री भइसकेका नेताहरुको नेतृत्वमासमेत सरकारमा जान बाधा नपर्ने उनको भनाइ छ।
यसअघि पूर्व प्रधानमन्त्रीको नेतृत्वमा सरकारमा जान नसकिने बताएका उनले बिहीबार भने, ‘आम नागरिकले पठाइसकेपछि जनमतको कदर नगर्ने भन्ने होइन।’
आफू अनिर्णयको बन्दी नबनाउने भन्दै सरकारमा जाने वा नजाने विषयमा केही दिनमा निष्कर्षमा पुग्ने बताए। आफू जानेभन्दा पनि आफ्नो दलको अजेन्डा सरकारमा जाने उनले दाबी गरे।