काठमाडौं- प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस सांसदहरुलाई बालुवाटार बोलाएका छन्। प्रधानमन्त्री निवाससमेत रहेको बालुवाटारमा कांग्रेस सांसदहरुलाई शनिबार साढे १२ बजे बोलाइएको एक सांसदले जानकारी दिए।
राष्ट्रपतिले प्रधानमन्त्रीमा दाबी गर्नका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएपछि देउवाले आन्तरिक र बाह्य छलफल तीव्र बनाएका छन्। उनले शुक्रबार मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए।
शनिबार पनि देउवाले प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट्ने कार्यक्रम छ। प्रचण्डले सत्ता गठबन्धनबाट आफू पहिलो चरणमै प्रधानमन्त्री हुनुपर्ने दाबी गरेपछि देउवा दबाबमा परेका छन्।
देउवा गत बुधबार कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका थिए। उनले गगन थापालाई पराजित गरेका हुन्। तर, सरकार गठनका लागि कांग्रेससँग एकल बहुमत छैन। कांग्रेससँग ८९ सांसद छन्।
बैठक आज बस्ने भए पनि शुक्रबार नै केही सांसदलाई खाली पृष्ठमा हस्ताक्षर गराइको थियो । स्रोतका अनुसार बाँकी रहेका सांसदहरूलाई हस्ताक्षर गर्न बैठक बोलाइएको हो । कागजमा विषय उल्लेख नगरिए पनि प्रधानमन्त्रीका लागि सांसदको संख्या पुगेको देखाउन हस्ताक्षर गराएको स्रोतको भनाइ छ ।
विषय उल्लेख नभएकोले महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले भने हस्ताक्षर गरेका छैनन् । संसदमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधि सभा सदस्यले प्रधानमन्त्री दाबी गर्न सक्ने संवैधानिक व्यवस्था छ ।