काठमाडौँ- मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोग निरुत्साहन गर्न नेपाल दूरसञ्चार प्राधिकरणले यही पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएका छ। शनिबार सूचना जारी गरी प्राधिकरणले पुस १५ गतेभित्र मोबाइलहरू दर्ता गर्न आह्वान गरेको हो।
चोरी भएका तथा हराएका मोबाइल सेटको ट्र्याकिङ/ब्लकिङ गर्न प्राधिकरणले एमडीएमएस यसअघि परीक्षणका रूपमा लागू गरेको थियो। पुस १५ देखि भने पूर्ण रूपमा लागू गर्ने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले विदेशबाट आउने नेपालीहरूले निजी प्रयोगका लागि साथमा ल्याएका (एमडीएमएस प्रणालीमा दर्ता नभएका वा नेपालमा मिति २०७९ भाद्रभन्दा अगाडि प्रयोगमा नरहेका) मोबाइल सेटहरूको (१५ Digit को IMEI नम्बर सहितको) भन्सार घोषणा गरी भन्सार ऐन, २०६४ अनुसार भन्सार कार्यालयबाट प्रज्ञापन पत्र लिई प्रणालीमा अद्यावधिक गर्न अनुरोध गरेको छ।
‘नियमानुसार भन्सारमा घोषणा नभएको मोबाइल फोन सेट मिति २०७९ पौष १५ गतेदेखि दर्ता नगरिने र यस्ता मोबाइल सेट सञ्चालनमा समेत रोक लगाइने हुँदा व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरू प्रज्ञापनपत्रसहित राहदानी/नागरिकता/राष्ट्रिय परिचयपत्रको आधारमा मात्र mdms.nta.gov.np मा गई दर्ता गर्न अनुरोध गरिन्छ’, प्राधिकरणको सूचनामा भनिएको छ, ‘नेपालभित्रै मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणाली (mdms.nta.gov.np) मा दर्ता भए/नभएको यकिन गर्न सकिने हुँदा सोहीअनुरूप यकिन गरेर मात्र खरिद गर्नु हुनका साथै मोबाइल आयातकर्ता/बिक्रेताहरूले मोबाइल आयात गर्नुअघि अनिवार्य रूपमा प्राधिकरणको पूर्व स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र बिक्री वितरण गर्नुहुन समेत यसै सूचना द्वारा जानकारी गराइन्छ।’