काठमाडौं- नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिन १ दिन बाँकी रहँदासम्म पनि गठबन्धन दलबीच सहमति बन्न सकेको छैन ।
शनिबार बैठक बस्ने भनिएपनि आज कतिबेला बैठक बस्ने भन्नेबारेमा निश्चित नभएको माओवादी केन्द्रका महासचिव देव गुरुङले बताए ।
गुरुङले भने– ‘अहिलेसम्म गठबन्धन दलको बैठक कतिबेला बस्ने भन्ने निश्चित भएको छैन । बेलुकासम्म बस्न पनि सक्छ । नयाँ सरकार गठनका बारेमा अहिलेसम्म कुनै सहमति जुटेको छैन । भोलि अन्तिम दिन भएकोले भोलिसम्म सहमति हुन सक्ला कि भन्ने लागेको छ ।’नयाँ सरकार गठनका सन्दर्भमा माओवादी केन्द्रले प्रधामन्त्रीको दावी छोडेको छैन भने कांग्रेसले पनि प्रधानमन्त्री र राष्ट्रपतिमा आफ्नो दावी कायम राखेको छ ।
प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम आइसकेपछि राष्ट्रपति भण्डारीले गत पुस ३ गते सरकार गठनको आह्वान गर्दै पुस १० गते आइतबार साँझ ५ बजेसम्म संविधानको धारा ७६ को उपधार २ अनुसार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई प्रधानमन्त्रीको नियुक्तिका लागि दावी पेस गर्न आह्वान गरेकी छिन् ।
राष्ट्रपतिले गरेको सो आव्हानको मिति सकिन लाग्दासेमत सत्ता गठबन्धन दलहरूबीच शक्ति बाँडफाँटबारे कुनै सहमति जुट्न नसकेको हो ।