काठमाडौं– शक्ति बाँडफाँटको विषयमा सत्ता गठबन्धनमा कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नसक्ने अडान लिएपछि प्रचण्ड त्यहाँबाट बाहिरिएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार बनाउन दिएको समयसीमा आइतवार साँझ ५ बजे सकिँदैछ। यो अवधिभित्र संविधानको धारा ७६ (२) अनुसार दुईभन्दा बढी दलले सरकार बनाउन बहुमत पेश गर्नुपर्नेछ।
राष्ट्रपतिले दिएको समयसीमा सकिन केही घण्टा बाँकी हुँदा सत्तारुढ दलहरु पद बाँडफाँटसहित सहमति प्रयासमा छन्।
प्रधानमन्त्री लिनै पर्ने अडानमा रहेको माओवादी केन्द्रलाई कांग्रेसले उक्त पद र राष्ट्रपति छाड्न नसकिने बताएको छ।
स्रोतका अनुसार आइतवार पनि कांग्रेस सभापति शेरबहादुर देउवाले दुवै पद अरुलाई दिन नसक्ने अडान लिएका छन्। प्रचण्ड बाहिरिएपछि अहिले दोस्रो तहका नेता बालुवाटारमै संवादमा छन्।
सत्ता गठबन्धनमा पहिलो कार्यकाल कसले प्रधानमन्त्रीको नेतृत्व लिने भन्ने विवाद छ। माओवादीले कांग्रेस सभापति देउवाले आफ्नो समर्थनमा डेढ वर्ष सरकार चलाएकाले अब आफ्नो पालो भएको अडान राखेको छ।
उता देउवा पहिलो कार्यकाल आफैं चलाउने अडानमा यथावत छ। अर्कातिर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि अन्तिम एक वर्ष आफूले नेतृत्व गर्न पाउनुपर्ने मत राखेको छ।
कांग्रेससँग कुरो मिल्न नसकिरहेका बेला माओवादीका केही नेताहरु एमालेसँग पनि छलफलमा छन्। उनीहरुले शनिबार राति एमाले नेतृत्वसँग छलफल गरेका थिए।