काठमाडौं-नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धन टुटेको बताएका छन् । आइतबार बालुवाटारमा भएको सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठकपश्चात् उनले गठबन्धन अब कांग्रेसको हातमा नरहेको बताए ।
नेता पौडेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन तोडेको उल्लेख गरे ।
‘प्रचण्डले गठबन्धन तोडेर जानुभयो । गठबन्धन कायम राख्नुपर्थ्यो,’ उनले भने, ‘अब हाम्रो हातमा केही बाँकी रहेन । अब गठबन्धन टुट्यो, हामी छलफलमा बस्दैनौँ भनेर प्रचण्ड बाहिरिनुभयो ।’ कांग्रेसको हातबाट सरकार बाहिर गएको उनको भनाइ छ ।
कांग्रेस नेता विमलेन्द्र निधिले राष्ट्रपति र प्रधानमन्त्री पद कांग्रेसले लिने देउवाको सन्देश आइतबार विहान प्रचण्डलाई सुनाएका थिए । उनले दोस्रो पालोमा प्रधानमन्त्री पद लिन प्रचण्डलाई आग्रह गरेका थिए ।
आइतबार नै बालुवाटारमा बोलाइएको सत्तारुढ गठबन्धनको बैठक पनि रोकिएको छ भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले अध्यक्ष ओलीसँग संवाद गर्न बालकोटतर्फ गएका छन् ।