काठमाडौं- नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कन्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाउन अधिकतम पहल गर्ने बताएका छन्।
सोमबार उपप्रधान तथा गृहमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि लामिछानेले सिंहदरबारस्थित मन्त्रालय पुगेर पद्भार ग्रहण गरे।
पद्भार ग्रहणका क्रममा प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री लामिछानेले गृह मन्त्रालयका अधिकरीहरुलाई ‘निर्मला पन्तको न्यायका लागि थप पहल गर्ने’ निर्णय ल्याउन भनेका हुन्।
उनले यही नै गृहमन्त्रीको रुपमा आफ्नो पहिलो निर्णय हुने भन्दै सचिव विनोदप्रकाश सिंहलाई यसको फाइल बनाउन निर्देशन दिए ।
कञ्चनपुरकी बालिका पन्तको २०७५ साउनमा बलात्कारपछि हत्या भएको थियो।
नागरिकता र पासपोर्ट छानविनबारे भने- स्वतन्त्रपूर्वक छानविन गर्न सहयोग गर्छु
गृहमन्त्री लामिछानले आफ्नो नागरिकता र पासपोर्ट विवादमा स्वतन्त्रपूर्वक छानविन गर्न सहयोग गर्ने बताएका छन्। राष्ट्रपति कार्यालयबाट सपथ लिएर सिंहदरबारमा कार्यभार सम्हाल्न पुगेका रविले सबैलाई बराबर हेरेर न्याय निर्णय हुने बताए।
‘म होस् वा अरु स्वतन्त्र ढङ्गले छानविन गर्ने कुरामा सहयोग बाहेक अन्य कुरा हुँदैन,’ उनले भने, ‘म वा अरु कसैको पनि स्वतन्त्रपूर्वक छानविनमा सहयोग गर्नेछु।’
सरकार गठनमा दलले प्रधानमन्त्रीको रुपमा जसलाई ल्याउँछ सोही उम्मेदवार संविधानले दिएको अधिकार अन्तर्गत स्वीकार गर्नुपर्ने भन्दै उनले प्रचण्डको नेतृत्वमा पनि काम गर्न सकिने लागेकाले आफू सहभागी भएको दावी गरे।
उनले हतार गरेर सरकारमा गएको भनी भइरहेको टिप्पणीमा जवाफ दिँदै मन्त्रिपरिषदमा पनि प्रतिपक्ष आवश्यक हुने भएकाले त्यहाँभित्र पनि त्यही भूमिका गर्ने बताए।