काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुई वर्षपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास पुगेका छन्।
नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन टुटेर एमालेको नेतृत्वमा सात दलीय गठबन्धन बनेपछि ओली प्रचण्डनिवास पुगेका हुन्।
यसअघि नयाँ गठबन्धन निर्माणका क्रममा प्रचण्ड आइतवार ओली निवास बालकोट पुगेका थिए। त्यहीँ सात दलीय नयाँ गठबन्धन निर्माण भएको थियो। ओली यसअघि अन्तिम पटक २०७७ पुस ४ गते प्रचण्डनिवास पुगेका थिए। तत्कालीन नेकपामा विभाजन देखिँदै गर्दा प्रचण्डसँग वार्ताका लागि पुगेको भोलिपल्ट २०७७ पुस ५ गते संसद विघटन गरिदिएका थिए।
ओली अहिले बनेको गठबन्धनलाई बलियो बनाएर अगाडि लैजाने योजनामा छन्। उनी एमालेलाई पहिलो पार्टी बनाउने योजनामा पनि रहेको बताइएको छ। तत्कालै उनी माओवादीसँगको गठबन्धनलाई दिगो बनाउने रणनीतिअनुसार वार्तामा सक्रिय छन्।
यसअघि नेकपा खारेज हुनुअघि ओली खुमलटार गएका थिए। त्यसयता दुई वर्षसम्म यी नेताबीच संवाद हुन सकेको थिएन। तर आफ्नै बलमा प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि ओली खुमलटार पुगेका हुन्।