काठमाडौं– प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भइसकेर संघीय सरकार पनि गठन भइसकेको छ। प्रदेशहरुमा पनि सरकारको गठनको पहल सुरु भइसकेको छ।
प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल प्रतिपक्षमा पुगेको छ भने दोस्रो ठूलो दल नेकपा एमालेसहित ७ दलको समर्थनमा तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका छन्।
सोमबार प्रधानमन्त्रीसहित प्रारम्भिक मन्त्रिपरिषद्का ८ जना सदस्यले शपथ लिएका छन्। सोमबार नै बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गतेका लागि संघीय संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को अधिवेशन आह्वान गरेकी छन्।
पुस २५ गते (सोमबार), दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्नेछ। अहिले प्रतिनिधि सभामा युवा सांसदहरुको उपस्थिति पनि बाक्लो छ। नयाँ दल, नयाँ सांसदका कारण संसदमा कस्तो रौनकता छाउला भन्ने कौतुहलता आम मानिसमा पनि बढेको छ।
यससँगै आम सर्वसाधारण नागरिकमा अर्को चासको विषय बनेको विषय हो– सांसदहरुको तलव भत्ता। सांसदहरुले के–के सेवा, सुविधा पाउँछन्, कस्तो सेवा, सुविधा हुन्छ, तलव बाहेक पनि अन्य सेवा सुविधा के पाउलान्? भन्ने सबैको चासो छ।
प्रतिनिधि सभा सदस्यले मासिक पारिश्रमिकको रुपमा ६६ हजार ७० रुपैयाँ पाउँछन्। त्यस्तै मासिक रुपमा विशेष भत्ता बापत १ हजार रुपैयाँ, सञ्चार सुविधा बापत ३ हजार रुपैयाँ र धारा, पानीको नाममा २ हजार रुपैयाँ गरी मासिक रुपमा एकमुष्ट ७२ हजार ७० रुपैयाँ पाउँछन्।
त्यस्तै आवास सुविधा भनेर काठमाडौं उपत्यकामा घर नहुने सांसदहरुले मासिक १८ हजार रुपैयाँ पाउनेछन् भने काठमाडौं उपत्यकामा घर हुनेहरुले ९ हजार रुपैयाँ मात्र पाउँछन्। सांसद निर्वाचित भएर आइसकेपछि एकपटकका लागि फर्निचरका लागि एकमुस्ट १५ हजार रुपैयाँ दिइन्छ। सांसदहरुले समिति र सभाको बैठकमा उपस्थिति भएपछि बैठक भत्ता बापत १ हजार रुपैयाँ र सभा तथा बैठकमा आवतजावतको लागि भनि थप १ हजार रुपैयाँ पाउनेछन्। थप सुविधाको रुपमा सांसदको दैनिक कामकाजमा सघाउने हेतुले सचिवालयमा राजपत्रांकित तृतीय श्रेणी सरहको स्वकीयसचिव नियुक्त गर्न दिइनेछ। स्वकीय सचिवले पाउने सेवा सुविधा स्वयं स्वकीयको खातामा नै हालिदिने गरिएको छ।
सांसदहरुले स्वदेशभित्र कुनै भ्रमण गर्नुपरेमा दैनिक भ्रमणभत्ता बापत २ हजार ५०० पाउनेछन् भने विदेश भ्रमण गर्नुपरेमा प्रतिदिन २२५ डलर पाउनेछन्। त्यसैगरी देशको प्रतिनिधित्व गर्दै अथवा संसदको कामको शीलशीलामा विदेश जानुपरेमा संसद सचिवालयको सिफारिसमा राहदानी विभागले कूटनीतिक राहदानी उपलब्ध गराउने छ।
त्यस्तै सांसदहरुले उपचार खर्च पनि पाउने गरेका छन्। कुनै रोगको सम्बन्धमा परामर्श लिनुपरेमा संघीय संसद् सचिवालयमा वरिष्ठ चिकित्सकले निःशुल्क परामर्श दिने व्यवस्था गरिएको छ। त्यस्तै अस्पताल भर्ना हुनुपरेको अवस्थामा सरकारी अस्पतालमा भर्ना भएमा बिल अनुसारको सबै रकम उपलब्ध गराउने र निजी अस्पतालमा भर्ना भएको भए बिलको आधा रकम पाउने गरेका छन्।
सांसदहरुले पेश्की लिन चाहेमा कारण जनाएर पारिश्रमिक र आवास भत्ता बापतको रकम बढीमा ३ महिना सम्मको लिन सकिने व्यवस्था रहेको छ।
विशेष परिस्थितिवस विदेशी अस्पतालमा उपचार गराउनुपर्ने अवस्था आएमा प्रतिनिधि सभा सदस्यलाई सभामुखको र राष्ट्रिय सभा सदस्यलाई सभाका अध्यक्षको स्वीकृतिमा बढीमा १ वर्ष सम्मको पारिश्रमिक र आवास भत्ताबापतको रकम पेस्की पाउने व्यवस्था छ।