काठमाडौं- सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको नेतृत्व भागवण्डाबारे छलफल सुरु भएको छ । सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रका नेताहरु एमालेलाई ४ वटा प्रदेशको मुख्यमन्त्री दिन तयार देखिएका छन्।
एमालेले प्रदेश १, बाग्मती, गण्डकी र कर्णालीको मुख्यमन्त्री पाउने सम्भावना छ। माओवादी केन्द्रले लुम्बिनी र सुदूरपचिमको मुख्यमन्त्री लिने देखिएको छ । मधेस प्रदेशको नेतृत्वमा भने जनता समाजवादी र जनमत पार्टीबीच आलोपालो गर्ने गरी सहमतिको प्रयास भइरहेको छ ।
जसअनुसार प्रदेश १ मा सरकारको नेतृत्व एमालेका स्थायी कमिटी सदस्य हिक्मत कार्कीले गर्ने छन्। उनी गत आइतवार एमाले प्रदेश १ संसदीय दलको नेतामा सर्वसम्मत चयन भइसकेका छन्। प्रदेश सांसद तिलकुमार मेन्याङ्बोको प्रस्ताव र रेवतीरमण भण्डारीको समर्थनमा कार्की निर्विरोध नेता निर्वाचित भएका हुन्।
मधेश प्रदेशमा जनता समाजवादी र जनमत पार्टीले आधा आधा कार्यकाल सरकार चलाउने छन्। त्यहाँ पहिलो कार्यकाल जसपाले सरकारको नेतृत्व लिने सहमति भएको छ। यस्तोमा मुख्यमन्त्रीको प्रवल दाबेदारमा बारा क्षेत्र नम्बर १ प्रदेशसभा (२) बाट विजयी सरोज यादव छन्।
गठबन्धनबाट बागमती प्रदेशमा माओवादी केन्द्रले सरकारको नेतृत्व लिने भएको छ। यहाँ माओवादीबाट संसदीय दलको नेता चयन भइसकेको छैन। सिन्धुपाल्चोक क्षेत्र नम्बर १ (२) बाट विजयी भएका सरल सहयात्री पौडेल मुख्यमन्त्रीका एकजना दाबेदार हुन्। उनी माओवादीका बागमती प्रदेश अध्यक्ष पनि हुन्।
बागमतीमा मुख्यमन्त्रीका अर्का दाबेदार हुन् शालिकराम जम्कट्टेल। मंसिर ४ को निर्वाचनमा धादिङ क्षेत्र नं १ ‘२’ बाट विजयी भएका उनी मुख्यमन्त्रीका बलिया दाबेदार हुन्।
भागवण्डाअनुसार गण्डकीमा एमालेले सरकार बनाउने भएको छ। त्यहाँ एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारी संसदीय दलको नेतामा चयन भइसकेका छन्। अधिकारी कास्की क्षेत्र नम्बर १ को १ बाट प्रदेश सभा सदस्यमा विजयी भएका हुन्।
लुम्बिनीमा एमालेले दलको नेता छानिसकेको छैन। त्यहाँ एमाले पोलिट्ब्युरो सदस्य लीला गिरी मुख्यमन्त्रीक प्रवल दाबेदार हुन्। त्यसैगरी एमाले प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ र केन्द्रीय सदस्य चेतनारायण आचार्य पनि मुख्यमन्त्रीको दौडमा छन्। लुम्बिनीमा एमालेले संसदीय दलको निर्वाचन गरिसकेको छैन।
कर्णाली प्रदेशमा यो पटक नेकपा एमालेले सरकार बनाउने भएको छ। गठबन्धन टिकिरहे कर्णालीमा एमाले नेता यामलाल कँडेल चौथो बलमा सरकारको नेतृत्वमा पुग्नेछन्।
सुदूरपश्चिममा अब नेकपा माओवादी केन्द्रले सरकार बनाउनेछ। अघिल्लो पटक माओवादीकै नेता त्रिलोचन भट्टले पूरा कार्यकाल सरकार चलाएका थिए। गठबन्धनमा तलमाथि हुँदा अन्य प्रदेशका सरकार ढले पनि सुदूरपश्चिममा भट्टले पूरै कार्यकालय सरकार हाँके।
तर पाँच वर्ष नै सरकार हाँकेका उनले मंसिर ४ को प्रदेशसभा निर्वाचनमा माओवादीबाट टिकट नै पाएनन्। अब उनी बिदा हुँदै गर्दा सुदूरपश्चिममा माओवादीबाट ओमविक्रम भाट ‘सरल’ र खगराज भट्ट मुख्यमन्त्रीका दाबेदार छन्।