काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एसले अहिलेको सरकारलाई र नयाँ परिवर्तन देश र जनताको पक्षमा ठिक छ भन्न समेत नसकेको भन्दै दिशाहीन राजनीतिको औचित्य नरहेको टिप्पणी गरेका छन् ।
एमाले संसदीय दलको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नयाँ सरकार गठन ठिक छ भन्ने फैसला समेत गर्न नसक्नेहरूले पाए जोसँग पनि एकता गर्ने र कांग्रेस पनि नछाड्ने दृष्टिकोण लिएको बताए ।
चुनावपछि पहिलो पटक नेकपा एसको बारे टिप्पणी गर्दै ओलीले भने- ‘नेकपा एस भन्ने पार्टीको हिजो अस्ति पोलिटब्युरो, स्थायी कमिटी बैठक बस्यो रे । अहिलेको परिवर्तन ठिक छ, देशभर जनताको पक्षमा नयाँ सरकारको गठन ठिक भन्ने फैसला पनि गर्न सकेन । एमालेसँग पनि एकता गर्ने, जसपा पनि एकता गर्ने वार्ता कमिटी बनाएछ । कस्तो राजनीति, कस्तो दृष्टिकोण हो, पाए कांग्रेसतिर पनि लाग्ने ।’
ओलीले माधव नेपालतिर संकेत गर्दै अब जुरु हल्लाउने काम छैन भन्दै एमालेलाई दिउँसै टर्च बालेर खोज्नुपर्छ भन्नेहरू राष्ट्रिय पार्टी समेत बन्न नसकेको बताए ।
विगतमा दुई पटक पार्टी फुटाउनेहरूको उपलब्धि कांग्रेस जिताउनेबाहेक केही नभएको भन्दै ओलीले एमालेसँग मिल्दा ३६ सीट जितेको माओवादीले कांग्रेससँग मिल्दा १८ मा झरेको बताए ।