काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ को निर्वाचनबाछ जनताले दलहरुलाई सशर्त समर्थन दिएको बताएका छन्।
प्रतिनिधिसभाको पहिलो बैठकलाई सोमबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
‘अहिले हामी लोकतन्त्रको मन्दिरमा छौँ। हामीलाई जनताले सशर्त समर्थन दिएका छन्’, उनले भने, ‘जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौँ सक्दैनौँ? त्यसैले यो संसद हाम्रो परीक्षा पनि हो।’
उनले अब परम्परागत राजनीतिले मात्रै जनतामा जान नसकिने बताए। ‘अब परम्परागत राजनीतिले मात्रै हामी जनतामा जान सक्दैनौँ’, उनले भने, ‘हामी फरक फरक राजनीतिक पृष्ठभूमिबाट आएका छौँ। जनतासँग सुशासनका प्रतिवद्धता हाम्रा साझा हुन्।’
उनले यो पटक नयाँ दलहरु संसदमा आएका पनि उनले बताए। ‘नयाँ दलहरु संसदमा आउनु भएको छ। तपाईंहरुको प्रवेश लोकतन्त्र र नागरिकको जीत हो’, उनले भने, ‘तपाईंहरुको आवेग जाजय छ।’
उनले अब केही हुँदैन भन्ने भावना त्याग्नुपर्ने बताए। ‘केही हुँदैन भन्ने हीन भावनाका ठाउँमा गरे के हुँदैन भनेर आशा जगाउनु छ’, उनले भने, ‘विभेद र बहिष्करणलाई अस्वीकार गर्दै राष्ट्रिय एकता बलियो बनाउनुछ।’