काठमाडौँ- नेकपा एकीकृत समाजवादीले नेकपा एमाले छाडेका नेता घनश्याम भूसाललाई प्रवेश गराएर महासचिव बनाउने तयारी गरेको छ। एक/दुई दिनमा भूसाललाई पार्टी प्रवेश गराउनेगरी तयारी भईरहेकाे छ ।
पार्टी प्रवेशको छलफलका लागि भुसालले गत सोमबार एक ‘कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रुपान्तरण तथा एकीकरणका लागि प्रस्ताव’ नामक दस्तावेज पार्टीमा बुझाएका थिए।
उनले दस्तावेजमार्फत समाजवादीको प्रस्तावमा आफू सकारात्मक रहेको बताएका छन्। तर, उनले त्यसका लागि पार्टीको तत्कालिन र दीर्घकालिन कार्यनीति र सिद्धान्तलाई परिस्कृत गर्नुपर्ने शर्त राखेका छन्।
उनको शर्तमाथि पार्टीमा छलफल सकारात्मक भइरहेको एक नेताले जानकारी दिए। ती नेताका अनुसार पार्टीका केही बैठकमा सहभागी गराएर भूसाललाई महासचिव बनाउने तयारी छ।
‘उहाँ (घनश्याम भूसाल) लाई एक दुई वटा बैठकमा सहभागी गराएर महासचिव बनाउनेगरी छलफल भइरहेको छ,’ एक नेताले भने, ‘पार्टी प्रवेश गर्ने विषय टुंगिसकेको छ। आज भोलिसम्म त्यो सम्भव छ। पदबारे उहाँ आइसकेपछि निर्णय हुन्छ।’
एमाले छाड्नुअघि उनी एमालेको अर्थ तथा योजना समितिको संयोजक थिए। एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएपछि उनी रुपन्देही–१ बाट कांग्रेस र माओवादीको समर्थनमा चुनावी मैदानमा थिए। तर, उनलाई एमालेका छविलाल विश्वकर्माले पराजित गरे।
निर्वाचन लगत्तै भूसाल समाजवादी अध्यक्ष माधव कुमार नेपाललाई बधाई दिन कोटेश्वरस्थित निजी निवासमै पुगेका थिए। त्यसयता समाजवादीका नेताहरूसँग निरन्तर संवादमा रहेका भूसाल अन्ततः पार्टी प्रवेश गर्ने निर्णय गरेका हुन्।