काठमाडौं- नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको छ ।
बानेश्वरस्थित संसद भवनमा बसेको कांग्रेस कार्य सम्पादनको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको नेता कृष्णप्रसाद सिटौलाले बताए। कार्यसम्पादन समितिको बैठकपछि अब संसदीय दलको बैठक बस्दैछ।
संसदीय दलको बैठकमा सभापति तथा दलका नेता शेरबहादुर देउवाले प्रचण्ड सरकारलाई विश्वासको मत दिन पार्टीमा ह्यीप जारी गर्ने भएका छन्। त्यसअघि पदाधिकारीले सहमति जुटाउन नसकेपछि कार्यसम्पादन समितिको बैठक बसेको थियो।
२७५ सदस्यीय प्रतिनिधि सभामा १६९ सांसदले प्रचण्ड सरकारलाई विश्वासको मत दिने भएपनि प्रतिपक्षमा बस्ने भएका छन्। प्रधानमन्त्री प्रचण्ड सोमबार मात्र कांग्रेस सभापति देउवालाई भेट्न धुम्बाराही पुगेका थिए । भेटमा प्रचण्डलाई देउवाले विश्वासको मत दिने आश्वासन दिएका थिए।
कांग्रेसभित्र प्रचण्ड सरकारलाई विश्वासको मत दिनुपर्ने पक्षमा संस्थापन पक्ष थियो। कोइराला समूह भने प्रतिपक्षमा बस्नुपर्ने अडानमा थियो। खासगरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा प्रतिपक्षमै बसेर शक्ति आर्जन गर्नुपर्ने पक्षमा थिए।
बिहान देउवानिवासमा बसेको पदाधिकारी बैठकमा सभापति देउवाले प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव राखेका थिए । पदाधिकारीबीच कुरा बाझिएपछि कार्यसम्पादन समितिको बैठक डाकिएको थियो ।
प्रतिनिधिसभामा कांग्रेसका ८८ सांसद छन् । कांग्रेसले २८ वर्ष अगाडिको नजिर फेरि दोहोर्याएको छ। प्रधानमन्त्री प्रचण्डलाई २६ पुसमा विश्वासको मत दिएपछि कांग्रेसले २०५१ सालको विगत दोहोर्याएको हो।
तत्कालीन एमाले अध्यक्ष तथा प्रधानमन्त्री मनमोहन अधिकारीलाई कांग्रेसले विश्वासको मत दिएर पद जोगाइदिएको थियो।
त्यसबेला मनमोहन प्रधानमन्त्री हुँदा दुईतिहाइ अर्थात् १९८ सांसदले विश्वासको मत दिएका थिए। यस पटक पनि प्रचण्डलाई दुईतिहाइ अर्थात् २७२ मत मिल्ने सम्भावना छ।
०५१ मा मनमोहनलाई दुईतिहाइ दिँदा कांग्रेस सभापतिमा गिरिजाप्रसाद कोइराला थिए। अहिले प्रचण्डलाई समर्थन गर्दा सभापतिमा देउवा छन्।