काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधसभाबाट दुईतिहाइभन्दा धेरै बहुमत पाएका छन्। मंगलबार भएको विश्वासको मत लिने प्रस्तावको पक्षमा अर्थात हुन्छ भन्ने पक्षमा २६८ मत खसेको छ।
उनको प्रस्तावको विपक्षमा जम्मा दुई मत परेको छ। मत दिन्न भन्ने पक्षमा कसैले पनि मतदान गरेनन्। आजको संसतमा जम्मा २७० सांसद उपस्थित थिए।
नेपालको संसदीय दलको इतिहासमा प्रचण्डले सदनमा लगभग सबै सांसदको विश्वासको मतसहित यो अभूतपूर्व समर्थन प्राप्त गरेका छन् । उनलाई प्रतिनिधिसभामा रहेका १२ मध्ये १० दलको समर्थन प्राप्त भएको छ ।
२७५ सदस्यीय प्रतिनिधिसभामा मनाङबाट निर्वाचित कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा छन् । १२ दल र स्वतन्त्रसहित बाँकी २७४ मा राष्ट्रिय जनमोर्चा र नेमकिपा मात्रै विपक्षमा उभिएका छन् । एमालेसहित ७ दलका १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए ।
उनी नियुक्त हुँदा समर्थन नगरेका नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोसपा लोकतान्त्रिक समाजवादीले पनि विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।
सदनमा बोल्दै प्रचण्डले प्रतिपक्ष दलको पनि समर्थनसहित आफूले असाधारण मत पाएको बताए । सबैको समर्थनपछि जनताको लागि गरेको प्रतिबद्धता कार्यान्वयमा निकै ठूलो अवसर पाएको उनको भनाइ थियो ।