गोरखा- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले नेतृत्व गरेको सरकारलाई राष्ट्रिय सहमतिको सरकारको संज्ञा दिएका छन् ।
११ औँ गोरखा महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले संसदका सबै दलको समर्थनसँगै सरकारले राष्ट्रिय सहमतिको स्वरूप लिएको बताए ।
प्रधानमन्त्रीले भने, ‘मैले यसपटक केही गर्नुछ भनेको छु । संसदमा नेपाली कांग्रेससहित दलहरूले विश्वासको मत दिएपछि यसले राष्ट्रिय सहमतिको सरकारको स्वरूप लिएको छ । सबै मिलेर देश बनाउनुपर्छ भन्ने भावना व्यक्त भएको छ ।’
‘प्रचण्ड’ले निर्वाचनका क्रममा मतदातासमक्ष गरेका प्रतिबद्धता पूरा गर्न आफू कटिबद्ध हुने बताएका छन्। प्रधानमन्त्री प्रचण्डले आफ्ना मतदातालाई धोका नदिने बताए। संसदमा सबै दलबाट विश्वासको मत पाउँदा गोरखाबासीलाई सम्झेको बताए।
‘सबै दलबाट प्रधानमन्त्रीमा विश्वासको मत पाउँदा तपाईंहरुलाई सम्झेँ। हामी तपाईंहरुको अगाडि गरेका प्रतिबद्धता पूरा गर्न निरन्तर अगाडि बढ्नेछौं,’सम्बोधनका क्रममा उनले भने।
तेस्रो पटक प्रधानन्त्री भएपछि प्रचण्ड पहिलो पटक गोरखा आएका हुन्। प्रचण्डले मंगलबार मात्रै संसदमा विश्वासको मत लिएका हुन्।