काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेकपा (एमाले) बाट निर्वाचित प्रतिनिधिसभाका सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताएका छन्।
मधेश आन्दोलनका क्रममा मारिएका नेपाल प्रहरीका असई थमन विकको हत्या आरोपमा महतो अझै पनि फरार सूचीमा छन्।
महतोले बुधबार संसद् बैठकमा उपस्थित भएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएका थिए।
महतो संसद् भवनमा उपस्थित हुँदा पनि गृहमन्त्री लामिछाने बेवास्ता गरेको भन्दै उनको आलोचना भइरहेको छ।
यस्तोमा बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी भएका लामिछानेले महतोलाई पक्राउ गर्न निर्देशन दिएको बताएका छन्।
गृहमन्त्री लामिछानेले फौजदारी मुद्दाका आरोपी सांसद महतोलाई पक्राउ गर्न आफूले प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई निर्देशन दिइसकेको बताएका हुन्।