काठमाडौं- वामपन्थी नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन्। शुक्रबार बानेश्वरको एक होटलमा आयोजित कार्यक्रममा भुसालले आफू समाजवादीमा समाहित भएको घोषणा गरे।
१० बुँदे सहमति गरेर एमालेमा लड्न गएको भन्दै उनले आफूले नेतृत्वको तानाशाही प्रवृत्ति विरुद्ध निरन्तर लडेको बताए। १० बुँदे सहमति गलत नभएको तर एमाले अध्यक्ष केपी ओलीका कारण लागू हुन नसक्दा अहिलेको अवस्था आएको उनको भनाइ छ।
ओली अझै एकातिर हलो र अर्कातिर घण्टी राखेर बालकोटबाट शासन गर्न खोजिरहेको आरोप पनि लगाए।
‘व्यवहारिक रूपमा भन्ने हो भने एकातिर हलो र अर्कातिर घण्टी राखेर बालकोटबाट शासन चलाउने व्यवहार भइरहेको छ’, भुसालले भने।
उनले अहिले पनि एमालेले संसदमा राम्रो भोट पायो भने फेरि संसद विघटन गर्छ भनेर संसदमै देखिएको भन्दै माओवादी पनि हिजोकै अवस्थामा फर्किएको आरोप लगाए ।
‘ओली सिद्धान्त, ओलीवाद र ओली संगठनका कारण कम्युनिस्ट आन्दोलन अप्ठेरोमा परेको छ । यस तर्कमा म बहस गर्न जहिल्यै तयार छु। यस्तो अवस्थामा म नेकपा एमालेमा रहन सकिनँ’ उनले भने, ‘मैले अघिल्लो चुनावमा हराएका मण्डलेलाई ल्याएर मलाई निकालेको कुरा पनि मैले सहेर बस्ने हो भने जिउँदै बस्नुपर्छ कि पर्दैन भन्ने कुरा जोसुकैले पनि सोच्ने कुरा हो । जोसुकैले प्रतिवाद गर्छ।’
उनले एमालेले जनताको बहुदलीय जनवादको हुर्मत लिएको आरोप समेत लगाए। ‘सौराहा काण्डका नेताहरू जनताको बहुदलीय जनवादी भएपछि त्यहाँ फस्यो,’ उनको तर्क छ।
भुसालले नेकपा एकीकृत समाजवादी सैद्धान्तिक वैचारिक रूपमा तत्कालीन नेकपाको खास उत्तराधिकारी रहेकाले आफूले यो पार्टी रोज्नुपरेको बताए ।
भुसाल गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका थिए । उनलाई तत्कालीन सत्ता गठबन्धनले समर्थन गरे पनि एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए।