गाेरखा- गोरखा १ ‘क’ बाट विजयी सांसद कृष्णप्रसाद धिताल गण्डकी प्रदेशसभाको सभामुख हुने भएका छन्।
नेकपा माओवादी केन्द्र संसदीय दलको शुक्रबार साँझ सम्पन्न बैठकले धिताललाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो। शनिबार दिउँसो ३ बजे सभामुखको निर्वाचन हुने कार्यक्रम छ।
सत्ता गठबन्धनले गण्डकीको सभामुख माओवादी केन्द्रलाई दिने निर्णय गरिसकेको छ। सत्ता गठबन्धनसँग बहुमत अर्थात् ३२ सांसद छन्।
६१ वर्षीय धिताल माओवादी जनमुक्ति सेनाको कमिसार हुन्।
०५२ सालमा परिवारसहित भूमिगत बनेका उनलाई पार्टीले युद्धसम्बन्धी तालिम लिन भारत पठाएको थियो। भारतमा उनले बम र बारुद बनाउने तालिम लिए। जनयुद्धकालीन समयमा उनी बम बनाउने दस्तामा काम गर्थे।
भेटेनरीमा आइएस्सी गरेका धिताल एक समय सरकारी जागिरे थिए। २०४९ सालमा कर्मचारी आन्दोलनमा होमिएको आरोपमा उनको जागिर गयो। त्यसपछि उनी निरन्तर माओवादीमै सक्रिय रहे।
पार्टीमा हुँदा उनले कास्की, लमजुङ र गोरखाको इन्चार्ज भएर काम गरेका थिए। उनी माओवादीको केन्द्रीय सदस्य तथा २०५८ देखि गोरखाको इन्चार्ज हुन्।
२०७० सालमा समानुपातिकबाट सविधानिभा छिरेका धितालले प्रत्यक्षमा भने पहिलोपटक चुनाव लडेका थिए। माओवादीका तत्कालिन प्रतिनिधि सभा सांसद हरिराज अधिकारीलाई राेक्दै टिकट ल्याएका थिए, मन्त्रीकाे दावेदार थिए ।
उनले एमाले उम्मेदवार सुरेन्द्र थापालाई ५ हजार ६३५ मतान्तरले पराजित गरेका थिए।
माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान मन्त्री बनिसकेपछि उनलाई सभामुख बनाउने निर्णय गरेकाे हाे । २०७४ काे सभामुखमा माओवादीकै नेत्रप्रसाद अधिकारी सभामुख थिए।
कांग्रेसले भने कसलाई उम्मेदवार बनाउने भन्नेबारे निर्णय गरेको छैन। अघिल्लो पटक सभामुखमा उम्मेदवारी नै नदिएको कांग्रेस यो पटक भने उम्मेदवार खडा गर्ने तयारीमा रहेको छ। प्रदेशमा कांग्रेस- २७, एमाले- २२, माओवादी ८, राप्रपा २ र एकीकृत समाजवादीका एकमात्र सांसद दीपक मनाङे सांसद छन् ।